हिजोआज भक्तपुरकी २४ वर्षीया पुनम कर्माचार्यको व्यस्तता बढेको छ।
कोराेना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढेसँगै उनी व्यस्त हुँदै गएकी हुन्। भक्तपुर जिल्ला अस्पताल वा जिल्लाभरिका 'होम–आइसोलेसन' मा कसैको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भयो भने त्यसपछि पुनमको काम सुरु हुन्छ।
सर्वसाधारणको जीवन र दैनिकी सकसपूर्ण बन्दै जाँदा पुनमको कार्यबोझ भने बढ्दै गएको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न देशभरि निषेधाज्ञा छ। देशभरिमा गत दुई सातायता दैनिक झण्डै दुई सय जनाको मृत्यु भइरहेको छ। कुनै अस्पतालमा बिरामी राख्ने ठाउँ छैन। दिनहुँ हजारौं सङ्क्रमित थपिरहेका छन्।
चिकित्सकहरु सन्देश जारी गरिरहेका छन्– सङ्क्रमणबाट बचौँ, सकेसम्म घरभित्रै बसौँ। हाम्रो नाक, मुख र आँखाबाट कोरोना भाइरस सर्छ, त्यसैले खुल्ला नराखौँ।
कारण, नयाँ प्रजातिले संसारमा आतङ्क फैलाएको छ। यसका बाबजुद मृतकको अन्त्यष्टि गर्नै छ तर कोही पनि आफन्तको मलामी जानसक्ने अवस्था छैन। कारण मर्ने त गइहाले, बाँचेका सबैलाई आफ्नो जीवनको सुरक्षा गर्नु छ।
सबै जिउ जोगाउन घरभित्र स्थानहद भएको यस्तो बेलामा भक्तपुरकी खाउँखाउँ–लाउँलाऊँ उमेरकी पुनम मृतकको शव व्यवस्थापनमा खटेकी छिन्। भक्तपुरभरि कोरोनाले कसैको मृत्यु भयो भने पुनम र जीना दुई जना युवतीको टोली शवलाई सङ्क्रमण नफैलिने गरी 'प्याकिङ' गर्न खटिइहाल्छन्।
पुनम र जीनाको दैनिकी कोरोना संक्रमणबाट मृत्यु भएका शव ‘प्याकिङ’ गरेर बितिरहेको छ। पहिला पुनम एक्लै थिइन्। जीनाको साथपछि पुनमलाई अलि सजिलो पनि भएको छ।
पुनम ‘रेस्क्यु एन्ड अवेयरनेस’ (आरएनए–१६) टीमकी अगुवा अभियन्ता हुन्। आरएनए–१६ मा ११ जना सदस्य छन्, जसमध्ये चार जना युवती छन्। ती युवतीमध्ये पनि दुई– पुनम र जीया चाहिँ शव व्यवस्थापनमा खटिन्छन्। आरएनए–१६ ले जनचेतना फैलाउनेदेखि स्वाब संकलनको काम पनि गर्छ।
को हुन् पुनम ?
पुनम नर्सिङ पढेकी युवती हुन्। हाल ‘मेडिकल व्यवस्थापन’ पढ्दै गरेकी उनले ख्वपः पोलिटेक्निकल इन्स्टिच्युट, च्याम्हासिंहबाट प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ गरेकी छिन्।
नर्सिङ सकेर केही समय भक्तपुर अस्पतालकै सामाजिक सुरक्षा इकाइँमा काम पनि गरिन्। करार अवधि सकिएपछि पुनम केही समय खाली बसिन्। यसैबीच संसार कोरोना महामारीले आक्रान्त बन्दै थियो। २०७६ चैतमा उनी ‘आरएनए–१६’ मा जोडिन पुगिन्। त्यसपछि सुरु भयो– उनको समाजिक कार्य।
‘नर्स भएर काम गर्दा मैले बिरामीको मर्म बुझेकी थिएँ। कोरोना महामारी फैलिएपछि धेरै मानिस त्रशित रहेको पाएपछि समाजिक काममा लागेकी हुँ’, उनले बिएल नेपाली सेवालाई बताइन्। कोरोनाको पहिलो लहर चल्दा भक्तपुर अस्पतालअगाडि सचेतना फैलाउने अभियानले उनलाई दुई महिनासम्म घर जानसमेत फुर्सद भएन। कोरोनाको जोखिम मोलेर जनताको सेवामा समर्पित भइन्।
मूलतः नेवारी समुदायमा छोरी मान्छेलाई शव हेर्न र मलामी जान बन्देज छ। उनलाई पनि सुरुका दिनमा शव देख्दा डर लाग्थ्यो। पुनमले भनिन्, ‘पहिला त मलाई शव देख्दा डर लाग्थ्यो। काम गर्दै जाँदा अहिले बानी परिसक्यो। फेरि नर्सिङबाट आएको भएर होला, आत्मविश्वास बढेको छ।’
शव व्यवस्थापनको अगुवाइ
०७७ साल जेठ २ गते धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी कोरोना सङ्क्रमित सुत्केरी महिलाको मृत्यु भयो।
त्यति बेलासम्म नेपालमा कोरोना सङक्रमितको शव कसले अन्त्यष्टि गर्ने भन्ने निश्चित भइसकेको थिएन। पूर्वतयारी नभएका कारण प्रशासन, प्रहरी, सेना पनि शव व्यवस्थापनमा तत्काल तयार भएन।
पुनमको समूहले नेपालमा पहिलो पटक कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने आँट गर्यो। त्यहीँबाट आफूले शव व्यवस्थापनको काम थालेको पुनमले बताइन्।
पुनम बाल्यकालदेखि नै निडर थिइन्। उनी बक्सिङ खेलाडी पनि हुन्। त्यसैले उनी केहीमा पनि केटाभन्दा कमजोर देखिँदैनथिन्। कोरोना सुरु हुनुअघि नर्सिङ पढेकीले विदेश जाने कि भन्ने पनि उनको मनमा आएको थियो।
सोही क्रममा कोरोना महामारी फैलियो। महामारीले उनको विदेश जाने यात्रा पनि रोकियो। त्यसपछि देशमै केही गर्ने सङ्कल्प गरिन् र समाजसेवामा लागिन्।
एक वर्षको लगनशीलताले उनको परिचय नै फेरिएको छ। अब उनको चिनारी 'नर्स' मा मात्रै सीमित छैन्, समाजसेवीका रुपमा पनि स्थापित भएको छ। धेरैले उनलाई ‘समाजसेवी केटी’ का रुपमा चिन्न थालेका छन्।
कठिन भोगाइ
सामाजिक कामको सिलसिलामा पुनमले धेरै कठिनाइ भोग्नुपरेको छ। सुरुका दिनमा उनलाई परिवारले अनुमति दिएन। टोल–समाजले पनि नकारात्मक टिप्पणी गर्यो।
कोरोनाको पहिलो लहर चल्दा लामो समयसम्म घर फर्किनन्। भक्तपुर अस्पताल क्षेत्रमै 'टेण्ट' बनाएर बसेकी थिइन्। त्यतिबेला कतिपय आफन्तबाट 'बिग्रिन लागी' भन्ने चिन्ता र टिप्पणी पनि उनले सुनेकी थिइन् तर उनी आफ्नो काममा दृढतापूर्वक लागिरहिन्।
पुनम र उनको समूह गत वर्षको कोरोनाकालदेखि नै भक्तपुर अस्पताल अगाडि ‘टेण्ट’ बनाएरै सर्वसाधारणलाई विभिन्न सचेतना दिने काम गरिरहेका छन्।
पुनमको दैनिकी
अहिले पुनम घर जान्छिन् तर बिहानै ६ बजे अस्पताल पुगिसक्छन्। त्यहाँ उनका साथीहरुले कोरोना सङ्क्रमितलाई सचेतना दिने काम गर्छन्।
उनी र उनका साथीहरु कोरोना सङ्क्रमितको मृत्यु भएको खबर पाउन साथ सोही स्थानमा पुग्छन्। जोखिम मोलेर शव व्यवस्थापन गर्छन्। उनीहरुले व्यवस्थापन गरेको शवलाई आर्मीको टोलीले अन्त्यष्टि गर्छ।
उनको समूहमा चार जना केटी र ६ जना केटाहरु छन्। जसमध्ये पुनमले संक्रमितको शव व्यवस्थापनमा मुख्य भूमिका खेल्ने गरेकी छन्।
संक्रमितको मृत्युको खबर पाउनबित्तिकै जोखिम मोलेर साथीहरुसहित शव व्यवस्थापनमा खटिन्छिन्, उनी। यसरी नै उनको दैनिकी चलिरहेको छ, अचेल।
कोरोनाको दोस्रो लहरपछि मात्रै आफूले करिब दुई दर्जन शव ‘प्याकिङ’ गरेको उनी बताउँछिन्। उनले सबैलाई काेमल आग्रहसमेत गरिन्, ‘अहिले कोरोनासँग लडौँ, आफ्ना रहर चाहनापछि पूरा गर्दा पनि हुन्छ नि!’