अक्सिजनसहित सय शय्याको आइसोलेशन बनाउँदै प्रदेश सरकार

फाइल तस्वीर
फाइल तस्वीर

धौलागिरि अस्पतालमा कोरोना सङ्क्रमितका लागि शय्या थप्न गण्डकी प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ।

सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको क्षमता बढाउन रकम निकासा गरेको जनाएको छ।

धौलागिरि अस्पतालमा अहिले ३७ सङ्क्रमितको उपचार भइरहेको छ तर अस्पतालको आइसोलेशन क्षमता भने जम्मा २५ शय्याको छ। त्यससँगै तीन आइसीयु र दुई भेन्टिलेटर मात्रै छन्।

जनशक्तिको अभाव खड्किरहेको सन्दर्भमा अस्पतालमा शय्या अभाव र अवस्था थप जटिल भएपछि केहीलाई पोखरा काठमाडौँ हेलिकप्टरमार्फत पठाइएको छ भने कम समस्या भएका बिरामीलाई बागलुङ नगरपालिकाले रातमाटामा निर्माण गरिएको आइसोलेशनमा राखिएको छ।

छत्तीस शय्याको अक्सिजनसहितको रातमाटाको आइसोलेशनमा अहिले आठ सङ्क्रमित रहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।

अस्पतालमा अक्सिजनसहितको थप १०० शय्या सेवा विस्तारका लागि प्रदेश सरकारले यही वैशाख २७ गते रु ६० लाख निकासा गरी अख्तियारी पठाएको सामाजिक विकास मन्त्रालयका डा रामबहादुर केसीले बताए।

उनले अस्पतालमा तत्कालका लागि कोरोना नियन्त्रण गर्न उक्त रकम निकासा गरेको पत्र अस्पतालमा पठाएका थिए। पत्र प्राप्त भई कार्यान्वयनको तयारी थालेको अस्पतालले जनाएको छ।

कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष सञ्चालक समितिको निर्णयानुसार अस्पतालमा पिसिआर परीक्षणको दायरा बढाउन, शय्या व्यवस्थापन तथा निर्माण, अक्सिजन मर्मत र जडानका लागि रु ६० लाख विनियोजन भएर अख्तियारी आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए।

मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङको स्वाब परीक्षणका लागि धौलागिरि अस्पतालको पिसिआर परीक्षण कम्तीमा दुई चरणमा गर्न आवश्यक पर्ने कम्प्युटर सफ्टवेयर जडान गर्न रु पाँच लाख र परीक्षणका लागि आवश्यक किट खरिदका लागि रु १५ लाख बजेट आएको छ।

यस्तै अस्पतालमा गण्डकी प्रदेशकै बजेटमा दुई वर्षदेखि सञ्चालित अक्सिजन प्लान्ट मर्मतसंभारका लागि रु १० लाख, अस्पतालको सि ब्लकमा १०० शय्याको आइसोलेशन कक्ष बनाउन र व्यवस्थापन गर्न रु २० लाख र उक्त शय्यामा अक्सिजन प्लान्टको पाइपलाइन जडानका लागि रु १० लाख गरी जम्मा ६० लाख रकम पठाइएको प्रदेश सरकारले जनाएको छ।

प्रदेशको उपप्रादेशिक अस्पताल बनाउनका लागि यसअघि अस्पताललाई १०० शय्या उपलब्ध भए पनि स्थान अभावका कारण थन्किएका थिए। सात वर्षदेखि सम्पन्न हुन नसकेको अस्पताल भवनमा अस्थायीरूपमा भए पनि शय्या व्यवस्थापन गर्न रकम आएको र यसको कार्यान्वयनका लागि आवश्यक प्रक्रिया थालेको अध्यक्ष राना मगरले बताए।

अस्पतालमा भने जनशक्तिको अभाव कायमै रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए।

उनले पिसिआर प्रयोगशाला दुई चरणमा सञ्चालनका लागि पर्वत, म्याग्दी र मुस्ताङका एक/एक जना ल्याव टेक्निसियन प्रदेश सरकारले पठाए पनि अहिलेसम्म नआएको बताए। यस्तै प्रदेश सरकारले सि ब्लकको भुइँ तलामा मात्रै आइसोलेसन कक्ष बनाउन भनेको छ। रासस

प्रकाशित मिति: : 2021-05-14 17:39:00

प्रतिकृया दिनुहोस्