नयाँ काेराेना संक्रमित भर्ना गर्न नसक्ने स्थितिमा कर्णाली प्रदेश अस्पताल 

फाइल तस्वीर
फाइल तस्वीर

अक्सिजनको अभावका कारण सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल काेराेनाका नयाँ बिरामी भर्ना गर्न नसक्ने स्थितिमा पुगेकाे छ।

कर्णाली प्रदेश अस्पताललाई दैनिक ३०० सिलिन्डर अक्सिजन आवश्यकता पर्ने भएपनि केही दिनअघिसम्म २०० वटा सिलिन्डर भरेर ल्याउने गरिएको प्रदेश अस्पतालले जनाएको छ। 

बुधबारदेखि प्रदेश अस्पतालमा अक्सिजनको हाहाकार भएको छ। बुधबार अस्पतालमा जम्मा ५० वटा सिलिन्डर मात्र अक्सिजन आएको थियो।

काेराेना संक्रमितलाई भर्ना लिन नसक्ने अवस्थाबारेमा छलफल भने गर्नुपर्ने अवस्था आएकाे अस्पतालका प्रमुख डा. डम्मर खड्काले बताएका छन्। 

'हालसम्म काेराेना संक्रमितलाई त लिएका थियौं। अब भने रोक्नुपर्ने स्थिति आएकाे छ,' उनले भने, 'यसका लागि प्रदेश सरकारसँग छलफल गर्न लागेका छौं।'

डा. खड्काका अनुसार जनशक्तिकाे उपलब्धता र वेड भए पनि अक्सिजन अभावकै कारण नयाँ भर्ना लिन नसकिने अवस्था आएकाे हाे। प्रशस्त मात्रामा अक्सिजन भए प्रदेश अस्पतालले २०० जनासम्म कोरोनाका बिरामी राख्न सक्छ।

'नेपालगञ्जबाटै अक्सिजन ल्याउन मिल्दैन। स्थानीयले नै खोसेर राखिदिन्छन रे,' डा. खड्काले थपे, 'यस्तो अवस्थामा हामीले कसरी बिरामीलाई भर्ना लिन सक्नु?'

बुधबारसम्म प्रदेश अस्पतालमा १०० जना काेराेना संक्रमित थिए। बिहीबारसम्म यो संख्या ९२ मा झरेकाे छ। कर्णाली प्रदेश अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन्। तर ती प्लान्टबाट 'हाइफ्लो'मा अक्सिजन दिन सकिएको छैन।

'अक्सिजनको अभाव छ, अहिले प्लान्टबाटै धेरैजसोलाई अक्सिजन दिने काम भइरहेको छ,' प्रदेश अस्पतालका डा. नवराज केसीले भने, 'तर हाइफ्लो चाहियो भने सिलिन्डर नै स्वीच गर्नुपर्छ। हामीसँग सिलिन्डर अभाव छ।'

कर्णाली प्रदेश अस्पतालको पुरानो र नयाँ भवन दुई वटैमा कोभिड अस्पताल सञ्चालन गरिएको छ। पुरानो भवनमा ५० जना बिरामी छन् भने नयाँ भवनमा ४२ जना छन्। 

डा. केसीका अनुसार पुरानो भवनमा भएकामध्ये केहीलाई प्लान्टबाटै अक्सिजन दिइएको छ। हाईफ्लो चाहिएकाहरुलाई भने सिलिन्डरबाट दिइएको छ।

कर्णाली प्रदेश अस्पतालमा अहिले ५० वटा मात्र दैनिक अक्सिजन आउने गरेको छ। ५० वटा सिलिन्डर भयो भने १२ घण्टासम्म त पुग्छ, तर त्यसपछि भने सिलिन्डरबाटै स्वीच गर्नुपर्ने खालका बिरामी आएमा सम्भावना निकै कम भएको अस्पताल प्रशासनले जनाएको छ। 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नेपालगञ्जमा पनि आक्रान्त अवस्था भएकाले कर्णालीमा आउने अक्सिजन घटेको बताए।

'केही दिनअघि त बिरामीका आफन्तले अटोमा आएर सुर्खेत ल्याउन लागेको अक्सिन गाडीबाटै लगेछन्। त्यहाँ पनि अवस्था आक्रान्त भएकोले होला। हाम्रो ठाउँबाट अन्यत्र किन अक्सिजन लैजाने भन्ने कुरा स्थानीयले गर्छन्,' उनले भने। 

सुर्खेतमा आउने अक्सिजन एकदम घटेको हुनाले प्रदेश अस्पतालले बिरामी लिन सक्दैनौं भनेर सूचना निकाल्छु भनिरहेकाे प्रजिअ रिजालले थपे।

उनका अनुसार नेपालगञ्जमा रहेको प्लान्टमा पनि अक्सिजन भर्न पालो समेत पाइएको छैन। नेपालगञ्ज बाहिरबाट गएका अक्सिजनका गाडीलाई अगाडि भएपनि स्थानीय आएपछि पछाडि पालोमा बस्न लगाउने गरिएको छ।

प्रकाशित मिति: : 2021-05-13 21:11:00

प्रतिकृया दिनुहोस्