सङ्कटमा प्रवासीको साथ

कोरोना महामारीविरुद्धको लडाइँमा प्रवासी नेपालीले साथ दिएका छन्।

विश्वभर छरिएर रहेका बागलुङेको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले महामारीका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका हुन्।

समाजको सहयोग र नेपाल पत्रकार महासङ्घ बागलुङको समन्वयमा मङ्गलबार धवलागिरि अस्पताललाई ५० थान व्यक्तिगत सुरक्षा कवच (पिपिइ), १५ लिटर स्यानिटाइजर, सर्जिकल मास्क १० प्याकेट र सर्जिकल ग्लोब्स तीन प्याकेट हस्तान्तरण गरिएको हो।

समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेल र महासङ्घका अध्यक्ष नरेश कँडेलले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरलाई सामग्री हस्तान्तरण गरेका थिए। बागलुङ नगरपालिकाद्वारा सञ्चालित आइसोलेशन कक्षका लागि पाँच थान पिपिइ, १० प्याकेट सर्जिकल मास्क, एक प्याकेट सर्जिकल ग्लोब्स र १० लिटर स्यानिटाइजर प्रदान गरिएको समाजले जनाएको छ।

ताराखोला गाउँपालिकाका लागि १० थान र बाँकी आठ स्थानीय तहका लागि चार थानका दरले पिपिइ र ६३ प्याकेट सर्जिकल मास्क उपलब्ध गराइएको समाजका कार्यालय प्रमुख कँडेलले जानकारी दिए।

स्वास्थ्य कार्यालय बागलुङलाई शव व्यवस्थानमा चाहिने सर्जिकल ग्लोब्स तीन प्याकेट, ताराखोला गाउँपालिकालाई चार प्याकेट सर्जिकल ग्लोब्ससहित ३० वटा थर्मोमिटर पनि प्रदान गरिएको छ।

जिल्लामा क्रियाशील पत्रकारका लागि सर्जिकल मास्क १२ प्याकेट र पाँच लिटर स्यानिटाइजर समाजद्वारा प्राप्त भएको महासङ्घका अध्यक्ष नरेश कँडेलले बताए।

सदरमुकाममा सामग्री हस्तान्तरण गरिए पनि ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था र आइसोलेशन केन्द्रमा सामग्री पठाइने भएको छ। सामग्री बुझ्दै अस्पतालका अध्यक्ष रानामगरले महामारीसँग जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मीलाई अत्यावश्यक सामग्री सहयोग गरेर समाजले उल्लेखनीय कार्य गरेको बताए।

सङ्कटको घडीमा राज्य एक्लैले सबैथोक गर्न नसक्ने हुँदा नागरिकस्तरबाट सहयोगको हातेमालो हुनुपर्ने उनको भनाइ थियो। अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र वि पोखरेलले सीमित स्रोत, साधनका बीच पनि बिरामीको सेवामा आफूहरु दिनरात नभनी खटिएको बताए।

अस्पतालले दक्ष जनशक्ति, स्वास्थ्य उपकरणसहित भौतिक संरचनाको समेत अभाव झेलिरहेको उनले उल्लेख गरे।

समाजका उपाध्यक्ष बेलुकाजी थापाले जिल्लाको तत्कालीन आवश्यकता हेरेर स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको बताए। उनका अनुसार महामारीको स्थिति हेरेर समाजले आउँदा दिनमा पनि सहयोगलाई निरन्तरता दिने भएको छ।

आवश्यकता पर्दा बागलुङमा रहेको समाजको कार्यालयलाई आइसोलेशन कक्षका रूपमा प्रयोग गर्न सकिने निर्णयसमेत गरिएको उपाध्यक्ष थापाले बताए।

प्रकाशित मिति: : 2021-05-12 09:39:00

प्रतिकृया दिनुहोस्