इरानमा कोभिड–१९ बाट अहिलेसम्म एक लाख नर्स सङ्क्रमित, १२० को मृत्यु

Nifey
Nifey

इरानमा सन् २०२० को फेब्रुअरीपछि कोभिड–१९ सङ्क्रमिणका कारण एक लाखभन्दा बढी नर्स सङ्क्रमित भएको इरानको नर्सिङ संगठनले मंगलबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ। 

सङ्क्रमित नर्समध्ये १२० जनाको यो अवधिमा मृत्यु भएको पनि उक्त तथ्याङ्कमा उल्लेख छ। 

इरानमा कोभिड–१९ को महामारी पत्ता लागेपछि नर्सहरूले गरेको सेवाको संगठनका प्रमुख मोहम्मद मिर्जाबेगीले प्रशंसा गर्दै भने, 'विश्वव्यापी महामारीका समय नर्सहरूले दिएको सेवाका कारण हजारौँ मानिसको जीवन सुरक्षित बनेको छ। बिरामीहरूको हेरचाह गर्न नर्सहरूले त्याग नगरी मुलुकमा संकटलाई नियन्त्रण गर्न नसकिने थियो। सङ्कटका समय नर्सहरूबाट पुर्याएको योगदानको राष्ट्रले उच्च कदर गर्नुपर्नेछ।'  

इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले मिर्जाबेगीलाई उद्धृत गरी लेखेको छ, 'सङ्क्रमित करिब एक लाख नर्सहरूले आफू कोभिड–१९ सङ्क्रमित भएपछि निश्चित समयको उपचार तथा आरामपछि पुनः सेवामा जोडिएका थिए। उक्त अवधिमा १२० नर्सको कोभिड–१९ सङ्क्रमणपछि शरीरमा आएका विविध समस्याका कारण ज्यान गुमाएका थिए।' 

इरानमा नर्सहरूको अभावलाई सङ्केत गर्दै उनले भने, 'विगत वर्षहरूमा नर्सहरूको ५३ हजार दरबन्दीका लागि अनुमति रहेको भएपनि मात्रै तीन हजारले सेवा प्रवेश पाएका थिए।' उहाँले समयमा नै जिम्मेवार पक्षले यस्ता क्षेत्रका सम्वेदनशील कुरालाई नबुझिदिँदा अहिले यसको प्रभाब स्वास्थ्य क्षेत्रले ब्यहोर्नु परेको बताए। 

उनले स्वास्थ्य अधिकारीहरुलाई अग्रमोर्चामा खटिने देशभरका नर्सहरुलाई तुरुन्त खोप पूरा गर्न आग्रह गरे। मंगलबार इरानले आफ्नो देशमा विकशित कोभिड–१९ विरूद्धको खोपको ठूलो परिमाणको उत्पादन सुरु गरेको छ। रासस 
 

प्रकाशित मिति: : 2021-05-11 21:05:00

प्रतिकृया दिनुहोस्