वागमती किनारमै जलाइन थाले काेराेना संक्रमित शव (भिडियाे)

कमल प्रभात

काठमाडौँ

कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि अन्त्येष्टि गर्ने ठाउँ अपुग भएको छ।

यसअघि शवलाई लाइनमा राखेर विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आएकोमा अब तीलगंगास्थित बागमती किनारमै चिता बनाएर जलाउन थालिएको हो।

सरकारले नेपालमा कोरोना संक्रमणका कारण बिरामीको मृत्यु हुन थालेदेखि नै त्यस्ता शव तीलगंगास्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्ने व्यवस्था गरेको थियो।

कोरोनाको दोस्रो लहरपछि अघिल्लो सातादेखि मृतकको सङ्ख्या ह्वात्तै बढेको थियो। त्यसपछि अन्त्यष्टि गर्न शवलाई कयौँ घण्टा लाइनमा राख्नुपर्ने अवस्था सिर्जना भएको थियो।

अत्यधिक भारका कारण आइतबार साँझ विद्युतीय शव दाह गृहको मेशिन पनि बिग्रन पुग्यो। त्यसपछि वागमती किनारमै अन्त्येष्टि थालिएको हो। पशुपति क्षेत्र विकास कोषले वाग्मति नदी किनारमा शव दाहसंस्कारको लागि छुट्टै ठाउँ बनाइएको छ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी सुवास कार्कीले बिएल नेपाली सेवासँग भने, 'कोरोनाबाट मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदागृहले व्यवस्थापन गर्न गाह्रो भएको थियो।  आइतबार साँझबाट विद्युतीय शवदाह गृह पनि बिग्रिएपछि वागमती किनारमै दाह संस्कार गर्न थालिएको हो।'

उनका अनुसार, वागमती किनारको नयाँ ठाउँमा सोमबार दिउँसोसम्म कोरोना संक्रमणबाट मृत्यु भएका २० वटा शवको दाहसंस्कार गरिसकिएको छ।

प्रकाशित मिति: : 2021-05-04 06:45:00

प्रतिकृया दिनुहोस्