निषेधाज्ञामा स्थलगत अनुगमन 

कोभिड–१९ सङ्क्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिबार यहाँका औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो।

निषेधाज्ञाका बेलामा बजारमा कालोबजारी हुने तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकाले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए। उनले भने, “औषधि पसलहरुमा मास्क र सेनिटाइजरको प्रयोग तथा बिक्री दरलगायतको बारेमा बुझिएको छ।”

त्यस्तै वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीको अनुगमन गरिएको छ।

अनुगमनका क्रममा विशेषगरी तेलको प्रतिपोका रु १३९ भएर आएको र पिठोको मूल्यसमेत वृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताए। तेलको मूल्यको विषयमा बुझेर त्यसको मूल्य नियन्त्रण गरिने उनले बताए।

प्रकाशित मिति: : 2021-05-02 08:11:00

प्रतिकृया दिनुहोस्