जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अस्पतालले शैया क्षमता बढाउँदै लगेका छन्।
सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन्। वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाउँदै छ।
भरतपुर अस्पतालमा विभिन्न वार्डका बिरामीहरु स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्याइएको छ। अस्पतालमा कोभिडका लागि ११० मात्रै बेड थिए। अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीका अनुसार हाल अस्पतालमा १० बेडको कोभिड सघन उपचार कक्ष, २५ वटा एचडियु र ७५ वटा अक्सिजनसहितको साधारण बेड छन्।
मेडिसिन वार्डका बिरामीलाई अन्यत्र सारेर अक्सिजनसहितको कोभिड बिरामीका लागि ४० वटा बेड विस्तार गरिएको छ। यस अघि हाडजोर्नी, न्यूरो, सर्जरी लगायतका विभागका बिरामी सारेर कोभिड उपचार कक्ष स्थापना गरिएको हो।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बाहिर जिल्लाबाट धेरै बिरामी आएकाले व्यवस्थापन कठिन भएको बताए। हाल अस्पतालमा ८२ जना कोभिडका बिरामी छन् ती मध्ये ५० प्रतिशत जिल्ला बाहिरका हुन्।
उनका अनुसार नेपालगञ्जदेखि यहाँ कोभिडका बिरामी आएका छन्। अधिकारीले भने, “यस्तै अवस्था रहेमा एक दुई दिनमा अस्पतालले कोभिडलाई छुट्टयाएका बेड भरिने छन्।”
अस्पतालमा हाल विशेषज्ञसहितका २० चिकित्सक र ३० नर्सिङ कर्मचारी कोभिड उपचारमा जुटेका छन्। अन्य अत्यावश्यक वार्डहरु खाली गर्न नसकिने भएकाले थप व्यवस्थापन गर्न कठिन हुने अस्पतालले जनाएको छ।
चितवन मेडिकल कलेजमा ११३ बेड कोभिडका लागि छुट्टयाइएको छ जसमा ३४ जना बिरामी हाल उपचाररत छन्।