शिक्षाबाट व्यवसायमा मोडिएको भाग्य (भिडियोसहित)

नवीन अर्याल

विराटनगर

अरुण कुमार राठी, ५४। २०४६ सालमा भारतको कोलकाताबाट व्यवस्थापन विषयमा आफ्नो अध्ययन पुरा गरेपछि विराटनगर फर्किएका थिए। उनलाई विराटनगरमा शिक्षासँग जोडिएर थुप्रै काम गर्ने इच्छा थियो। 

यसै पनि नेपालमा २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापना नहुँदासम्म शिक्षा सबैको पहुँचमा थिएन। त्यसैले उनी आफूले हासिल गरेको ज्ञान सबैलाई बाँड्न चाहन्थे। 

तर रोचक कुरा– उनका बुवा स्वर्गीय युगलकिशोर राठी यहीबीच कोलकाता घुम्न गएका रहेछन्। त्यहाँ उनको भेट पुराना मित्र नरेन्द्र केडियासँग भयो। नरेन्द्रको कोलकातामा टुटेफुटेका सामान टास्ने ‘ग्लु’ को फ्याक्ट्री रहेछ। 

नेपालमा अन्य व्यापार तथा व्यवसाय गरेर बसेका युगलकिशोरलाई साथीको फ्याक्ट्रीले निकै आकर्षित गरेछ। उनका लागि यो नितान्त नौलो कुरा थियो। फेरि घरमा पहिले केही कुरा च्यातिँदा वा फुट्दा त्यसलाई जोड्ने कुनै उपाय थिएन, सामानहरू त्यतिकै फ्याँक्नु पर्ने बाध्यता उस्तै थियो। साथीसँगको भेटपछि उनलाई लागेछ, यस्तै फ्याक्ट्री नेपालमा पनि किन नखोल्ने? 

उनी अठोट बोकेर विराटनगर फर्किए। तर, त्यो काम गर्ने कसले? उनले पश्चिम बंगालको कोलकाता विश्वविधालयमा अध्ययन गरेर फर्किएका तिनै छोरालाई यसको जिम्मा लगाए। 

अरुणलाई यस कामको जिम्मा लगाउँदै गर्दा बुवाको मनमा छोराले कुन स्तरको ज्ञान बोकेर आयो भन्ने परीक्षण गर्नु पनि थियो। 

बुवाकै निर्देशनमा उनले विराटनगरमा २०४७ सालमा ‘राठीकोल’ को नामबाट एउटा कम्पनी स्थापना गरे। जुन अहिले नेपालको नम्बर–१ ‘ग्लु’ को रूपमा स्थापित भइसकेको छ। 

यसबीच अरुणले थुप्रै संघर्ष गर्नुपर्‍यो। नेपालमा चारवटा मिश्रित मौसम पाइन्छ। त्यसैले यहाँ ‘ग्लु’ बनाउनु चानचुने कुरा थिएन। पहिले उनले भारतबाटै ‘ग्लु’ बनाउने मिस्त्री नेपाल झिकाएका थिए। तर, भारतीय मिस्त्रीले यहाँ सामान तयार पार्न सकेन। यसपछि नेपालमै काम गरिरहेका एक मिस्त्रीसँग मिलेर सामान तयार पार्ने अभियानमा स्वयम जुटे। 

सामान तयार पारे पनि उनलाई बेच्न हम्मेहम्मे पर्‍यो। विराटनगरमा बुवाको राम्रो छवी थियो। त्यही पनि कसैले उनलाई पत्याएनन्। ‘पसलमा माल मात्र राख्दे। बेचेर दिँदा हुन्छ भने। तर, कसैले पत्याएनन्,’ राठीकोलका मेनेजिङ डाइरेक्टर अरुण विगत सम्झन्छन्,‘म निरास भइसकेको थिए।’

यतिबेला विराटनगर मात्र होइन, पुरै पूर्वको बजार भारतीय सामानले ओगटेको थियो। आफ्नो सामान कसैले राख्न नमानेपछि अरुणले आफूले पढेको व्यवस्थापन विषयको ‘आइडिया’ निकाले– ‘डोर टु डोर क्याम्पेनिङ’ गर्ने। 

‘यसका लागि म आफै काठको काम गर्ने मिस्त्री कहाँ पुगे। उनीहरूलाई कमिसन दिए। किरिङ बनाए। भारतीय माल केजीको १ सय ५० रुपैयाँमा बिक्दैथियो। मैले सय रुपैयाँमा सामान बजारमा झारेँ,’ सुरुवाती दिन आफूले गरेको संघर्षको कहानी उनले बिएल नेपाली सेवालाई सुनाए। 


जोगवनीको ढाट बन्द गरेर यसरी नेपाल छिराइँदैछ कोरोना 

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

दासढुङ्गाभित्र लुकेका घटना र प्रेमकथाहरु

धरहरा, कोलकाताको ‘शहिद मिनार’ र भारतीय मानसिकता


लामो संघर्षपछि एकैदिन २५ केजीको सामान बेचेको घटना अहिले पनि उनलाई याद छ। उनी भन्छन्, ‘वास्तवमा मान्छे पढेर होइन। परेर सिक्दोरहेछ। नेपालमा चारवटा मौसम पर्ने कारण माल बनाउँदा अर्के जुक्ति लगाउनुपर्ने ज्ञान न भारतका मिस्त्रीसँग थियो, न मलाई। तर परेर थाहा भयो।’

काठको काम गर्ने मिस्त्रीमार्फत सिधै माल बिकाउने उनको योजना केही दिनमै सफल सावित भयो। यसपछि हिजो माल राख्न नमान्ने पसलेहरू लाइनमा आए। उनको ‘बजार रणनीति’ ले ठ्याक्कै काम गर्‍यो। तीन महिनामा त उनले पुरै नेपालको शहर घुमेर बजार व्यवस्थापन गर्ने काम भ्याइसकेका थिए। 

यसपछि उनी राजधानी काठमाडौं हानिए। काठमाडौंमा त्यतिबेला ‘पोलीकोल’ खुबै चर्चामा थियो। सामान चीनबाट आए पनि लेबल नेपालको थियो। चीनबाट एक महिनामा सामान आइपुग्ने कारण उपभोक्ताहरू त्यति सन्तुष्ट थिएनन्। फेरि पैसा एक महिना अगाडी नै एडभान्समा तिरिसक्नुपथ्र्यो। 

अरुणले काठमाडौंका व्यापारीलाई ‘ग्लु’ नेपालमै उत्पादन भइरहेको सुनाउँदा एकछिन त सबै जिल्ल परेँ। फेरि माल एक–दुई दिनभित्रै दिनसक्ने बताएपछि सबै दंग थिए। 

अरुण काठमाडौंको त्यो घटना सम्झिँदै भन्छन्, ‘विराटनगरबाट काठमाडौं जाँदा गाडीमा गएको थिए। तर, काठमाडौंबाट प्लेन चढेर फर्किए। मेरो ब्राण्डलाई काठमाडौंका व्यापारीले यति ठूलो महत्व दिए। पहिलो भेटमै १२ हजार केजीको अर्डर प्राप्त भयो। यसपछि राठीकोलले उचाई लियो।’

कम्पनी स्थापना गरेको एक वर्षपछि उनले मुम्बईबाट अर्को मिस्त्री झिकाए। अहिले उनको कम्पनीमा प्रत्यक्ष ८० जना कार्यरत छन्। अप्रत्यक्ष रूपमा सयौंको संख्यामा रोजगार जोडिएका छन्। 

नेपालभरि राठीकोलको २६ वटा डिस्टिब्युटर छ भने करिब ८ हजार पसलमार्फत प्रत्यक्ष वा अप्रत्यक्ष काम भइरहेको छ।  

उनको कम्पनीले मासिक २ लाख केजी ‘एडोसिभ’ उत्पादन गर्छ। जुन ८० करोड फर्निचरमा प्रयोग हुनसक्छ। 

उनको सफलता देखेर नेपालमा ‘एडोसिभ’ को १० वटा कम्पनी स्थापना भइसकेको छ। उनी यस कुराले खुसी छन्। ‘सफल कुरा सबैले पछ्याउन चाहन्छन्। यस अर्थमा म भाग्यमानी छु,’ उनले भने। 

उनी कुनै पनि कम्पनी सफल हुन अनवरत लाग्नुपर्ने बताउँछन्। ‘असफलतामा आत्तिने र सफलतामा मात्तिने गर्नुहुन्न,’ नयाँ व्यापार व्यवसाय गर्नेका लागि उनको गुरुमन्त्र हो, यो। 


दोस्रो विश्व युद्धमा जापानको सेनाबाट बाँचेका भीमबहादुर बर्मेली सेनासँग हारे

‘हाम्रो तेन्जिङ शेर्पालाई’ भारतीय बनाउने खेल कसरी भयो?

विदेशीकाे भारी बाेकेर मालिक बनेका नाेर्बु 

प्रकाशित मिति: : 2021-04-28 06:34:00

प्रतिकृया दिनुहोस्