कलुवापुर -बेलौरी सडक निर्माण अवरुद्ध

रासस

कञ्चनपुर
फाइल तस्वीर
फाइल तस्वीर

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर बेलौरी सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य एक सातादेखि अवरुद्ध भएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौँडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको हो।

सडकको मौजुदा संरचनाअन्तर्गतनै टो–बाल निर्माण गर्ने, माटो भरान गर्ने, ग्याबिन जाली राख्ने, कालोपत्रेका लागि बेस राख्नेलगायतका कार्य अगाडि बढाउन खोजिएपछि निकुञ्ज कार्यालयले निर्माण कार्य रोकेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीले बताए।

'जिल्लाको पुरानो सदरमुकाम बेलौरी हुँदा देखिनै करिब ५० वर्षअघि सडक निर्माणको कार्य गरिएको थियो', पूर्वाधार विकास कार्यालयका प्रमुख नेगीले भने, 'त्यही सडकलाई स्तरोन्नति गरी कालोपत्रे गर्नका लागि बेस बिछ्याइसकेको अवस्थामा निकुञ्ज कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन पेश नगर्दासम्म कार्य अगाडि बढाउन नदिने जानकारी गराएको छ।' उनका अनुसार निर्माण कार्यको ठेक्का पाएको सन्तोषी थेगिम जेभी निर्माण कम्पनीलाई कार्य अगाडि बढाउन दिइएको छैन।

'सडकको पुरानै आठ मिटरलाई कायम गरी कार्य अगाडि बढाउनका लागि निकुञ्ज कार्यालय प्रमुखसँग मौखिकरूपमा सहमतिसमेत भएको थियो', उनले भने, 'त्यसमा निकुञ्ज कार्यालय प्रमुखले सहमतिसमेत दिएका थिए। सडक निर्माण क्षेत्रमा कुनै रुख र बुट्यानसमेत हटाउनु पर्ने अवस्था छैन। वर्षाैं पुरानो सडकको स्तरोन्नति गर्नका लागि इआइए गर्नुपर्ने अवस्था नहुनु पर्ने हो।'

'पुरानै सडकलाई बनाएर लैजाने हो', पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अधिकृत हेमराज भट्टले भने, 'नयाँ संरचना केही बनाइएको छैन। निर्माण कार्य अगाडि बढाइएकै बेला अवरोध गरी रोकिएको छ।'

निकुञ्ज कार्यालयका प्रमुख दिलबहादुर पुर्जामगरले निकुञ्जको ‘कोर एरिया’मा पर्ने सडक भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन अनिवार्य भएको बताए।

'कानूनअनुसार इआइए माग गरिएको हो', उनले भने, 'त्यो नहुँदासम्म निर्माण कार्य अगाडि बढाउन सकिँदैन।' विभाग र मन्त्रालयबाट लिखितरूपमा सडक निर्माणका लागि अनुमति लिएर आए कार्यमा अवरोध नहुने उनले बताए।

'वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्रे हुन थालेपछि खुशी भएका थियौँ', कालागौँडीका स्थानीयवासी नवलसिंह रानाले भने, 'धुलाम्मे, हिलाम्मे र खाल्टाखुल्टी भएको सडक सहज हुन्छ भन्ने सोचेका थियौँ। निकुञ्जले अवरोध गरी सडक निर्माण कार्य रोकेपछि निराश भएका छौँ। तत्काल अवरुद्ध सडक निर्माण कार्य सञ्चालन हुनुपर्छ। यसका लागि सबै क्षेत्रबाट पहल हुनुपर्छ।'

पूर्वाधार विकास कार्यालयले कलुवापुर बेलौरी सडक निर्माणको कार्य दुई चरणमा कालोपत्रे गरिरहेको छ। रु १८ करोड २० लाखमा कलुवापुरदेखि चानदेवसम्मको १४ किलोमिटर र चानदेवदेखि नेपाल–भारत सीमा क्षेत्रसम्मको १४ किलोमिटर गरी २८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि सन्तोषी–थेगिम जेभीलाई ठेक्का दिइएको छ। सडक निर्माणका लागि आब ०७२/७३ मा सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता गरेको हो। 

आव ०७६÷७७ मा सुदूरपश्चिम सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयलाई सो निर्माणको कार्य हेर्ने जिम्मा दिइएको थियो। सडक निर्माण झण्डै ८० प्रतिशत सकिएको छ।

निकुञ्ज क्षेत्रमा निर्माण हुने सडकमा अवरोध भएपछि सडक निर्माण निर्धारित समयभन्दा पछि धकेलिने भएको छ। यसबाट लागत खर्चसमेत बढने अनुमान गरिएको छ।

प्रदेश सरकारले यस सडकलाई एक जिल्ला एक गौरवको योजनाअन्तर्गत राखेको छ। जिल्लाको पुरानो सदरमुकाम बेलौरी जोड्ने यो सडक वैकल्पिक व्यापारिक मार्गका रूपमा समेत रहेको छ।

बेलौरी कलुवापुर सडकको लम्बाइलाई बढाई प्रदेश सरकारले ५५ किलोमिटर पु-याएको छ। कलुवापुरदेखि उत्तरतर्फसमेत सडक विस्तार गर्नका लागिसमेत कार्य अगाडि बढाइएको छ। 

प्रकाशित मिति: : 2021-04-26 11:18:00

प्रतिकृया दिनुहोस्