निर्माण कम्पनी भागेपछि ७ वर्षदेखि पुलको हालत उस्तै 

मोरङको कानेपोखरी–रङ्गेली सडक खण्ड अन्तर्गत कानेपोखरी २ को गेउरिया खोलामा निर्माणधीन पुल ७ वर्ष बितिसक्दा पनि अझै बन्न सकेको छैन। 

कानेपोखरी–रङ्गेली सडक निर्माणको ठेक्का पाएको कन्चनजङ्घा कन्ट्रक्सनले गत चैत्र १८ गते सरकारलाई सडक हस्तान्तरण गरिसक्यो। तर, पुल निर्माण गर्ने निर्माण कम्पनी भागेको-भागै गर्दा फेरी पनि पुल अलपत्र परेको स्थानीय दुर्गा रेग्मीले बताए।

गत वर्षको भदौमा निर्माण कम्पनी फिचर एन्ड सराउद्धिन जेविलाई काम सुरु गर्न निर्देशन दिएपछि पुल निर्माणको काम सुरु भएको थियो। सोही कम्पनीले २०७१ सालमा पुल निर्माणको ठेक्का पाएपछि बीचमा काम गर्दा गर्दै उक्त कम्पनी भागेको थियो।

सोही कम्पनीले गेयरिया पुलको निर्माणका लागि दोस्रो पटक सम्झौता गर्याे। १५ मिटर लम्बाई पुल निर्माण गर्ने  १ करोड १८ लाख रुपैयाँमा पुल निर्माण गरी सडक डिभिजन कार्यालय मोरङलाई २०७७ को चैत्रमा पुल हस्तान्तरण गर्ने सम्झौता भएको थियो।

सराउद्विन जेविका  प्रमुख सराउद्घिन अन्सारीले  केही महिना अघि चैत्र महिनासम्ममा पुलको सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिनादेखि  पुलबाट आवत जावत हुने  जानकारी दिएका थिए। तर, दुईवटा पिल्लर ठड्याएर निर्माण कम्पनी बेपत्ता झैं बनेको छ।

'काम रोकिएको १ महिना भयो', स्थानीय गणेश दाहालले बताए। सुरुमा दुर्गतीमा भएको काम अहिले कछुवाको गतिमा काममा भइरहेको दाहालको भनाई छ।

सडक डिभिजन कार्यालय मोरङका प्रमुख पशुपति ज्ञवालीले केही प्राविधिक सामानहरू ब्यवस्थापनका लागि काम रोकिएको बताए। उनले कार्यालयको निगरानीमा काम भइरहेको र जेठको दोस्रो साता पुल निर्माण गरी जिम्मा लगाउने बताए। ज्ञवालीले पुल निर्माणका लागि आवश्यक ‘बेरिङ’ अभाव भएकोले काम रोकिएको जानकारी दिए। 

पुलको दक्षिण र उत्तरतर्फ फराकिलो कालोपत्रे सडक छ। पुल निर्माण नहुँदा सडक नै कुरुप देखिएको स्थानीयको गुनासो छ।

प्रकाशित मिति: : 2021-04-24 10:59:00

प्रतिकृया दिनुहोस्