नेकपा विभाजनको बेला थपिएका केन्द्रीय सदस्य एमालेको राष्ट्रिय परिषद सदस्यमा रुपान्तरण

तत्कालिन नेकपा विभाजनको बेला केपी ओली पक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनित भएका सबै केन्द्रीय सदस्यहरु अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालिन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सय भन्दा बढी नयाँ सदस्यहरुलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा रुपान्तरित गरेको हो।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते प्रचण्ड–माधव पक्षले कार्की वैंक्वेटमा अलग्गै बैठक राखेको थियो।

सोही दिन बालुवाटारमा बसेको ओली अध्यक्षताको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरि ११ सय ९९ सदस्य कामय गरेको थियो।

सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएसँगै ती केन्द्रीय सदस्यहरु के हुने भन्ने अन्यौल थियो।

अब उनीहरु केन्द्रीय कमिटी र महाधिवेशनको बीचको एमालेको संरचना राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बन्ने भएका हुन्। यो परिषदले विधान संशोधनलगायतका निर्णय गर्न पाउँछ।

प्रकाशित मिति: : 2021-04-19 16:16:00

प्रतिकृया दिनुहोस्