स्कुले बालबालिकाहरु रुघाखोकी र ज्वरोले ग्रसित

File Photo
File Photo

पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन्।

रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ। रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या कोरोना महमारी हो कि भन्ने स्थानीयवासीले शङ्का गर्न थालेका छन्।

जुम्ला तातोपानी गाउँपालिका–८ टोप्ला गाउँका कालिका माविमा अध्ययनरत ४७२ विद्यार्थीमा करिब ४० प्रतिशतमा विद्यार्थीमा एक हप्तादेखि रुघाखोकी र ज्वरोको अत्यधिक प्रभाव देखिएको सोही विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिए। “यहाँ बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकमा पनि यो समस्या देखिएको छ”, उनले भने, “शुक्रबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट गएको पाँचजना स्वास्थ्यकर्मीको टोलीले जाँच गरी औषधि दिएर फर्केको छ।

कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य परीक्षणका क्रममा मौसमी रुघाखोकीको समस्या देखिएकाले बिरामी बालबालिका तथा ज्येष्ठ नागरिकलाई जाँचपश्चात् औषधि दिएर फर्केको बताए। “धेरै विद्यार्थी बिरामी भएको खबर पाएपछि हामीले घटनास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेका हौँ,” प्रमुख सापकोटाले भने, “जिल्लाभरको प्रदूषित मौसम हावाहुरीका कारण ज्वरो र रुघाखोकी बढिरहेको देखिन्छ।”

उनीहरुलाई एक हप्तासम्म घरमै बस्ने, बाहिर ननिस्कने सुझावसहित औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको टोली फर्किएको उनले बताएकाे विद्यालयका अध्यक्ष सुरतबहादुर शाहीले विद्यार्थीमा अत्यधिक रुघाखोकी र ज्वरो बढेका कारण स्थानीय प्रशासनलाई गुहारेर स्वास्थ्य टोलीको सहयोग लिइएको बताए। रासस

 

प्रकाशित मिति: : 2021-04-19 08:41:00

प्रतिकृया दिनुहोस्