पानी नपरेर कृषि काम अघि नबढेपछि चर्को गर्मीमा मिथिलानी (मैथिल गृहिणी, मिथिलाका नारी) ‘गुइँठा’ बनाउँदै इन्धनको जोहोमा लागेका छन्।
खेतीपातीको काम खासै नभएपछि महोत्तरीका गाउँ/नगर बस्तीमा खाना पकाउने इन्धनको जोहोमा मिथिलानीहरुको ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर राख्ने व्यस्तता बढेको हो।
पानी नपरी हिउँद बितेपछि खेतबारी खनजोत र अन्य कृषि काम अघि बढ्न नसकेका बेला अहिलेको चर्को गर्मीलाई मिथिलानीले इन्धनको जोहोमा गुइँठा बनाउन प्रयोग गरेका हुन्। कृषि कार्यमा फुर्सदको बेला परेपछि यहाँका गृहिणीको खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ (गोबर पथारेर दाउरा प्रयोजनका लागि बनाइने इन्धन, ‘चिपरी’ र ‘गोरहा’ पनि भनिन्छ) बनाउने व्यस्तता बढेको हो।
प्रायजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिन्छन्।
जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिलेको चर्को गर्मीबीच गृहिणीको ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो।
चर्को घाममा गुइँठा, चिपरी चाँडै सुक्ने भएको हुँदा समयको सदुपयोग भएको मिथिलानीको भनाइ छ। खेतीपातीको अन्य काम खासै नभएको बेला अहिले चर्को घामले ‘गुइँठा’ चाँडै सुक्ने भएको हुँदा यो काममा लागिएको मिथिलानी बताउँछन्।
वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ पथार्ने गरेको गृहिणीको भनाइ छ। घरमा पशुवस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी ९थुप्रो० लगाउने र नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ।
यसरी दुई÷तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई/तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ। सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ।
यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ। यस्तो चाङ एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ। अहिलेको चर्को घाम यसका लागि अनुकूल समय भएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरकी गृहिणी शैल महतो बताउछन्।रासस