कर्मशील ठगेन्द्रः कोरियाबाट फर्केर कृषि जागरणमा

बाउबाजेको पालादेखि सुनिदै आएको नेपालको परिचयात्मक शब्दावली हो ‘कृषि प्रधान’ देश। तथापि, कृषि प्रधान देशको कृषि व्यवस्था यो शब्दावली सुहाउँदो बन्न सकेको छैन।

बरु कतिपय हिसाबले हाम्रो कृषि अझ रूग्ण बन्दै गएको छ। पढेलेखेका युवाहरुमा कृषिप्रतिको आकर्षण दिनानुदिन घट्दो छ, खेतबारी बाँझिनेक्रम बर्षेनी बढ्दो छ।

सरकारले बर्षैपिच्छे कृषिमा गरेको भनिएको लगानी परिणाममा हेर्दा निरासाजनक छ।

यो दुरावस्थाका कारण नेपाली कृषिले आवश्यक युवा जनशक्ति पाउन सकेको छैन। युवाशक्ति व्यवसायीकरुपमा नलागेसम्म हाम्रो कृषि व्यवस्थालाई उन्नत बनाउन सकिंदैन।

चुनौतीमा सम्भावनाहरु पनि प्रशस्त हुन्छन्, हिम्मत र जाँगर भएकाहरुले ती सम्भावनाहरुको खोजी गर्छन्। सुखद् नै मान्नुपर्छ, पछिल्ला केही वर्षयता सानो संख्यामा भए पनि व्यवसायीक कृषिमा युवाहरुको प्रवेश हुन थालेको छ।

त्यसरी लाग्नेहरूमा कतिले अनुकरणीय कामसमेत गरेका छन्। त्यस्ता अनुकरणीय काम गर्नेहरु मध्येका एक हुन्-मोरङको रतुवामाई ९, झरनाका ठगेन्द्र न्यौपाने।

पाँच बर्ष दक्षिण कोरिया बसेर फर्किएका ठगेन्द्र अहिले आफ्नै गाउँघरको माटो सुम्सुम्याउँदै कृषि कर्ममा नयाँ तौरतरिकाले जुटेका छन्। स्थानीय युवाहरुलाई सहभागी गराएर अभियानकै रुपमा सामुहिक खेतीपातीको नेतृत्व गरिरहेका छन्, उनी।

बैदेशिक रोजगार समन्वय समिति रतुवामाई नामको संस्थामा आबद्ध भएर ठगेन्द्रको अगुवाइमा व्यवसायीक कृषि थालेका युवाहरु अहिले स्थानीय बजारमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेका छन्।

संस्थाको नाम र लोगो अंकित टिसर्ट लगाएर उनीहरु कृषि फसल बेच्न बजार निस्किन्छन्। उनीहरु अहिले च्याउ, भिण्डी, टमाटरलगायतका उत्पादन बेचिरहेका छन्।

पढेलेखेका र देशविदेश घुमेका युवाहरुले यसरी बजारमा आफ्ना उत्पादनहरु बेचेको देखेपछि अरुहरु पनि उत्प्रेरित हुन थालेका छन्।

कसरी जुटे युवाहरु कृषिमा ? 
नेपाली कामदार दक्षिण कोरिया जाने लहर चलेको देखेपछि राजधानीमा सानोतिनो काम गर्दै कलेज पढ्दै गरेका ठगेन्द्रको मन पनि ठुलो जहाज चढेर उढ्न थाल्यो।

काठमाडौँमा बसेर आर्थिक कठिनाइ खेपिरहेका उनले कोरियामा मनग्ये पैसा कमाएको सपना देख्न थाले। जीवनमा एक चोटी कोरिया जाने निष्कर्ष निकालेर उनी इपिएस परीक्षाको तयारीमा जुटे।

पहिलो प्रयत्नमा एपिएस पास गरेर उनी कोरिया उडे। राम्रो कमाइ हुने काम पाए। सयमा चल्दै गरेको जीवनको हिसाब लाखमा हुन थाल्यो।

महिनाको अन्त्यमा हाराहारी दुई लाख हात पर्दाको हर्ष उनी अहिले पनि सम्झन्छन्।

उनी भन्छन्, 'सुरुसुरुमा लाख-लाख तलब थाप्दा मैले यत्रो कमाएँ भनेर आफैँलाई पत्याउन गाह्रो हुन्थ्यो। मेरो कमाइ महिनाको दुई लाख जति हुन्थ्यो। कुनैकुनै महिना बढी पनि हुन्थ्यो। परिवारका सबै लागेर बर्षभरी खेतीपाती गर्दा हामीलाई दुई-चार हजार बचाउन धौधौ पथ्र्याे। म एक्लैले महिनैपिच्छे दुई लाख कमाउनु म र मेरो परिवारका लागि अमुल्य खुशीको कुरो थियो।'

काम सँगसँगै नेपालीहरुमाझ हुने सामाजिक गतिविधिमा पनि सक्रिय थिए, ठगेन्द्र। धेरै गतिविधिको नेतृत्व उनी आफैं गर्थे। उनले नेकपा प्रवास कमिटी, दक्षिण कोरियाको सदस्यमा निर्वाचित भएर समेत काम गरे।

राम्रो कमाइ र राम्रो नेतृत्व प्राप्त भइरहे पनि उनको कोरिया बस्ने मन मर्दै गयो। स्वदेश फर्केर आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने भावना उनमा जागृत हुँदै गयो।

अनेक विकल्प मध्ये व्यवसायीक कृषिले उनको मन तान्न थाल्यो। बिस्तारै बैदेशिक रोजगारमा रहेका र गाउँमै भएका युवाहरु मिलेर नयाँ तौरतरिकाले व्यवसायीक कृषि गर्ने निष्कर्षमा पुगे उनी।

विभिन्न देशमा रहेका आफ्नो गाउँठाउँका युवाहरुसँग उनले सम्पर्क गर्न थाले। मन मिल्नेहरु भेटिंदै गए। जोस जाँगर भएकाहरुको संख्या बढ्दै गएपछि अनलाइन बैठक गरेर उनीहरुले ठगेन्द्रकै अध्यक्षतामा रतुवामाई बैदेशिक रोजगार समन्वय समिति गठन गरे।

समितिमा रतुवामाईमै रहेका युवाहरुलाई पनि समेटिए। यही समितिको नामबाट फेसबुक पेज बनाएर उनीहरु आफ्ना गतिबिधि र योजना प्रस्तुत गर्न थाले।

२०७६ असोजमा ठगेन्द्र कोरिया छोडेर घर फर्किए। बिस्तारै समितिका अरु केही सदस्यहरु पनि घर आए। कार्तिकमा समितिलाई पुनर्गठन गरी ठगेन्द्रकै अध्यक्षतामा उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा संस्था दर्ता गराए।

संस्था दर्ताको बैधानिक प्रमाणपत्र प्राप्त गरेपछि पहिलो चरणमा उनीहरुले स्थानीय युवाहरुमाझ व्यवसायीक कृषि सम्वन्धी आफ्ना योजनाहरुको प्रसार गरे। त्यसपछि लिजमा जग्गा लिएर तरकारी खेतीबाट कृषि अभियान सुरु गरे।

अहिले के के गर्दैछन्?

३-४ बिगाह जमिनबाट तरकारी खेती थालेका युवाहरु अहिले ३३ बिगाह जमिन भाडामा लिएर खेती गर्दैछन्। तरकारी बालीमा उनीहरु च्याउ, भिण्डी र टमाटर उत्पादन गर्छन्। धेरै जग्गामा उनीहरु धान र मकै खेती गर्छन्।

अहिले उनीहरुले १३ बिगाहामा बर्खे धान रोपेका छन्, ८ बिगाहामा मकै लागाएका छन्। केही जग्गा खाली पनि राखेका छन्। अब बर्खामा लगभग सबै जग्गामा हिउँदे धान रोप्छन्।

संस्थाका सदस्यहरुबाटै पुँजी जम्मा गरेर कृषि गरिरहेका युवाहरुले सरकारी अनुदान पनि पाउन थालेका छन्।

संस्थाले पाएको अनुदानबारे ठगेन्द्र भन्छन्, ‘हामीले अहिलेसम्म २ सय पोका च्याउमा सतप्रतिशत अनुदान पायौं, मकैमा पचास प्रतिशत पायौं। धान जोनबाट एउटा पावर टेलर पनि लियौं।’

प्रदेश सरकारको कृषि यन्त्रीकरण केन्द्र स्थापना कार्यक्रम अन्तरगत पाउने अनुदानका लागि पनि समितिले प्रक्रिया अगाडी बढाएको छ।

यस योजना अन्तरगत एउटा ट्रयाक्टर, थ्रेसर, रोटाभेटर, आली लाउने मेशिन, मकै रोप्ने हाते मेशिन र च्याउका लागि पराल काट्ने मेशिनका लागि भर्खरै सम्झौता भएको न्यौपाने बताउँछन्।

उनका अनुसार संस्थाले २६ लाख ६० हजार बराबरका कृषि यन्त्रहरु पाउनेछ र यसमा संस्थाको ५० प्रतिशत लगानी र सरकारको ५० प्रतिशत अनुदान रहनेछ।

तिता—मिठा अनुभव 
सुरुका दिनमा कोरियामा बसेर सामाजिक संजाल फेसबुकबाट गाउँ फर्केर कृषि गर्ने योजना प्रस्तुत गर्दा धेरैले आफुहरुलाई उल्लीबिल्ली पारेको अनुभब न्यौपानेसँग छ।

त्यसो त उनीहरुलाई उत्प्रेरित गर्नेहरु पनि उत्तिकै थिए। त्यतिबेलाको खिसिट्युरी र उत्प्रेरणा सम्झदै ठगेन्द्र भन्छन्, ‘हामी हाम्रा कुरा पोष्ट गर्थियौँ। कतिले प्रेरणा दिन्थे, कतिले खिसिट्युरी गर्थे। यो खेतबारीको कृषि होइन, फेसबुके कृषि हो सम्म भन्थे। कहिलेकाँही हामी निरास पनि हुन्थ्यौं। तर पनि आफुभित्रको उर्जा समेटेर हामी लागिरह्यौं र आज यो अवस्थामा आइपुगेका छौं।’

खेती थाल्दा र सुरुसुरुमा तरकारी बेच्न जाँदा स्थानीयहरुको समर्थन पाउन उनीहरुलाई निकै गाह्रो भएको ठगेन्द्र बताउँछन्। त्यो बेलाको टिकाटिप्पणी थोरै सकारात्मक र धेरै नकारात्मक रहेको उनको बुझाइ छ।

तर, बिस्तारै उनीहरुको जाँगर र कामको प्रसंशा हुँदै गयो। अहिले उनीहरुले स्थानीयको समर्थन पाएका छन्, सरकारी निकायहरुबाट समेत राम्रो सहयोग पाएका छन्।

उनीहरुको गतिबिधि समेटेर नेपाल टेलिभिजनले समेत कार्यक्रम प्रसारण गरिसकेको छ। आफुहरुले गरेको काम नेपाल टेलिभिजनबाट प्रशारण भएकोमा न्यौपाने प्रशन्न छन्।

उनी भन्छन्, ‘नेपाल टेलिभिजन जस्तो राष्ट्रिय प्रशारणले हाम्रा गतिबिधि र अन्तर्वार्ताहरु प्रस्तुत गरिदियो, यो हाम्रा लागि ठुलो हौसला हो।’

कृषिबाट अहिले नै ठुलो आर्थिक उपलब्धि प्राप्त गर्न नसकिने पनि उनको ठम्याइ छ। तथापी, क्रमशः कृषि क्षेत्रको समग्र विकास हुँदै जानेमा उनको दृढ विश्वास छ।

ठगेन्द्र भन्छन्, ‘समाज विज्ञानको नियमानुसार नै समाजका हरेक क्षेत्रको विकास हुन्छ। कृषिको विकास पनि यसै अनुरुप हुँदै जान्छ। हाम्रो कामबाट स्थानीय युवाहरुमा कृषिप्रति सकारात्मक दृष्टिकोण जागृत हुँदै गएको छ। कम्तिमा यो कृषि विकासका लागि एउटा आधारशिला हो।’ 

प्रकाशित मिति: : 2021-04-16 13:49:00

प्रतिकृया दिनुहोस्