मेयरकाे अगुवाइमा भएकाे आक्रमणमा परेका पीडितको प्रश्न- ‘सेवा लिन जाने सेवाग्राहीलाई कुट्ने कानून कहाँ छ ?

उर्लाबारी नगरपालिका–५ का विष्णुप्रसाद भण्डारीले नक्सा पास नगरी घर बनाएको विवादमा मेयर खड्ग फागोले सेवाग्राहीहरूलाई कुटपिट गरी उल्टै मुद्दा लगाएर थुनेको पीडित परिवारले आरोप लगाएका छन्।

पीडित परिवारले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफूहरूमाथि कुटपिट गरी उल्टै मुद्दा लगाइएको बताए।

चैत ३० गते सोमबार भण्डारीको घर निर्माण रोकिएको विषयमा जानकारी लिन भण्डारीसहित टंकबहादुर बस्नेत, इन्द्र लामा, नारायण बस्नेत, प्रेमप्रसाद बाँस्तोला, खड्गबहादुर थापा (भूपाल) र संजोग अधिकारीसहित नगरपालिका पुगेका थिए।

उनीहरूले घर निर्माण रोकिएको विषयमा जानकारी लिन नगरपालिका पुग्दा मेयर फागोसहित उनका भतिज दुर्गा फागो र दीपेन्द्र धिमालले कुटपिट गरेको आरोप लगाएका छन्।

यसअघि प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा पीडित परिवारमाथि अभद्र रुपमा प्रस्तुत भएका मेयर फागोले त्यतिबेलाकै रिस अहिले पोखेको पीडित इन्द्र लामाले दाबी गरे। बाँस्तोला प्रकरणमा पीडित भण्डारीले समेत मेयर फागोलाई सार्वजनिक स्थानमा प्रश्न गरेका थिए।



उर्लाबारीका मेयरद्वारा सेवाग्राहीमाथि कुटपिट 



नगरपालिकामा सेवा लिन जाँदा मेयर फागोले आफूलाई गुण्डा लगाएर कुटपिट गरेको र प्रहरीले समेत मेयरकै पक्षमा लागेर सेवाग्राहीलाई झुटो मुद्दा चलाएको बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै भुपाल थापाले भने, ‘सेवा लिन जाने सेवाग्राहीलाई नै कुट्ने कानून कहाँ छ ? मेयरको गुण्डागर्दी बन्द गरियोस्।’

इलाका प्रहरी कार्यालय उर्लाबारीले मेयर फागोकै निर्देशनमा नारायण बस्नेतलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै पीडित परिवारले न्यायका लागि माग गरेका छन्।

नारायणकी श्रीमती नीता बस्नेतले आफ्ना श्रीमान्लाई मेयर फागोकै निर्देशनमा नगरपालिका बाहिरका व्यक्तिहरूले कुटपिट भएको र उनीहरूविरुद्ध प्रहरीले उजुरी समेत लिन नमानेको दाबी गरिन्।

‘मेरो श्रीमान्लाई मेयरसहितका व्यक्तिहरूले कुटपिट गरे, औषधि उपचार गर्नसमेत दिएनन्’ नीताले भनिन्, ‘कसको के खाइदिएको थियो र कुटिनुपर्ने, थुनिनुपर्ने ?’ घटनामा पीडक पक्षले नै उजुरी दिएर न्यायको धज्जी उडाएको उनले बताइन्। उनले घटना भएको बेलाको सिसिटिभी फुटेज सार्वजनिक गरेर अनुसन्धान गर्न समेत प्रहरीलाई चुनौती दिइन्।



मेयरको अगुवाईमा सेवाग्राहीमाथि भएको आक्रमणबारे एमाले र यूवा संघद्वारा निष्पक्ष छानविन गर्न माग (विज्ञप्तिसहित)



फागोसहित संलग्न रहेर कुटपिट गरिएका नारायणको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको जनाइएको छ। 

उक्त घटनापछि बिष्णुप्रसाद भण्डारीको परिवार भने घरमा चाबी लगाएर सम्पर्कविहीन भएको पीडितहरुले पत्रकार सम्मेलनमा बताए।

प्रकाशित मिति: : 2021-04-16 10:02:00

प्रतिकृया दिनुहोस्