विस्थापित हुँदै निजी हात्ती

जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन्।

कोरोना सङ्क्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र बिक्रीसमेत गर्न थालेको जनाइएको छ।

हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई वर्ष अघिसम्म ६७ हात्ती रहेकामा हाल यो सङ्ख्या घटेर ३५ मा झरेको छ।

संस्थाका पूर्वअध्यक्षसमेत रहनुभएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई हात्ती पाल्न मुस्किल भएको बताउछन्। सरकारी तवरबाट कुनै किसिमको सहयोग नभएपछि हात्ती विस्थापित हुन थालेको उनको भनाइ छ।

दैनिक दुई क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्ने हात्ती पाल्न मासिक एक लाखभन्दा बढी खर्च हुने व्यवसायी बताउँछन्। भारतबाट भाडामा ल्याएकामध्ये तीनवटा हात्ती मात्र यहाँ बाँकी रहेको बताइएको छ।

व्यवसायीले यकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्ती एउटाको ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको छ।

ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ। सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापारसम्बन्धी महासन्धि (साइटिस)ले हात्तीलाई अनुसूची १ मा राखेको छ। व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची १ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन। त्यसैकारण यहाँका व्यवसायीले हात्ती बिक्री गरेको स्वीकार गर्दैनन्।
 

प्रकाशित मिति: : 2021-04-15 08:48:00

प्रतिकृया दिनुहोस्