बालबालिकाले गरे बालविवाह नगर्ने प्रतिबद्धता

जिल्लामा हुँदै आएको बालविवाह अन्त गर्नका लागि यहाँका अभिभावक अग्रसर भएपछि यहाँको सबैभन्दा बढी बालविवाह गर्ने वडाका रुपमा चिनिँदै आएको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका बालबालिकाले बालविवाह नगर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

“सबै जुटौंँ बालविवाह रोकौँ” भन्ने मूल नारासहित बालविवाहविरुद्धको अभियान सफल पार्न म प्रतिबद्व छु भन्दै सुनादेवी र चौखान माध्यमिक विद्यालयमा अध्ययनरत कम्तीमा ७०० विद्यार्थीले हस्ताक्षर गर्दै आफ्नो प्रतिबद्धता जनाएका हुन्।

विद्यार्थीहरुले ब्राह्मणा, डाडाँगाउँ, सेरी, सेट गाउँ हुँदै सुनादेवी माध्यमिक विद्यालयको प्राङगणसम्म विभिन्न नारासहित र्याली निकालेर बालविवाह नगर्ने घोषणा गर्नुका साथै बालविवाह गर्नेलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन्।

सो वडालाई २०७८ चैत मसान्तसम्म बालविवाहमुक्त गर्ने योजनासहित दिपायल सिलगढी नगरपालिकाले रणनीतिक योजना लागू गरेको छ।

गुड नेवर्स इन्टरनेशनल नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा विभिन्न कार्यक्रम गर्दै आएको सामुदायिक विकास केन्द्र डोटीले बालविवाह नगर्न तथा नगराउन अभिभावकसँग हस्ताक्षर अभियान सञ्चालन गरेको छ।

मागी विवाहमा कमी आएको भए पनि उमेर नपुगी भागी विवाह गर्ने क्रम बढ्दै गइरहेकाले बालबालिकाबाट नै बालविवाह अन्त्यका लागि प्रतिबद्धता गर्न लगाइएको केन्द्रका शिक्षा विकास अधिकृत एकराज बडूले बताए। 

 उनले भने “बालविवाह अन्त्य गर्नका लागि बालबालिकाले प्रतिबद्धता जाहेर गरेका छन्, यो वर्षभित्र यहाँको बालविवाह अन्त हुने आशा गरेका छौँ।” यस वडाका अभिभावकले बालविवाह नगर्ने पटक–पटक प्रतिबद्धता जाहेर गरे पनि व्यवहारमा लागू नगरेका कारण यहाँको बालविवाहको अन्त्य हुन नसकेका अहिले बालबालिकाले नै बालविवाह अन्त्का लागि प्रतिबद्धता जाहेर गरेको गुड नेवर्स इन्टरनेशनल नेपाल डोटीका जिल्ला संयोजक रञ्जित चौधरीले बताए। 

बालविवाह अन्त्यका लागि अहिले बालबालिकाले ऐक्यबद्धता जनाएकाले आफूहरुलाई पनि थप कार्य गर्न हौसला मिलेको र आगामी दिनमा पनि सबैको साथ सहयोग पाउनेमा आफूहरु आशावादी रहेको उनले जानकारी दिए। महिनावारी नहुँदै छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक अन्धविश्वास कायमै रहेका कारण उक्त वडामा हुने बालविवाह अन्त्य हुन नसकेको वडाध्यक्ष रामबहादुर खड्काले बताए। रासस 

प्रकाशित मिति: : 2021-04-14 17:36:00

प्रतिकृया दिनुहोस्