विश्वमै दुर्लभ मानिने एकसिँगे गैँडाको संख्या नेपालमा ७५२ रहेको पाइएको छ।
झण्डैै पाँच वर्ष पछि भएको एकसिँगे गैँडाको राष्ट्रिय गणनामा अघिल्लो गणना भन्दा १०७ बढेको हो। यस अघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल संख्या ६४५ रहेको थियो।
शनिवार चितवनमा सार्वजनिक गरिएको तथ्यांकमा चितवन राष्ट्रिय निकुञ्जमा ६९४, पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा रहेको पाइएको हो। त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडाको संख्या रेकर्ड गरिएको छ।
पछिल्लो पाँच वर्षमा पर्सा बाहेक अरु राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या निकै सन्तोषजनक रुपमा वृद्धि भएको छ भने पर्सामा भने सन् २०१५ को संख्या जस्तै तीन वटा मात्र गैँडा भेटिएका छन्।