गाउँमा आगो लगाउने एक जना पक्राउ

जुम्लाको तिला गाउँपालिका-९ ढिपु गाउँको मुल्लीमा आगो लगाउने एक जना पक्राउ परेका छन्। 

सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको अनुसन्धानका क्रममा  पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।  

उनले चैत २१ गते मुल्ली बस्तीमा आगो लगाएका थिए। आगलागीबाट २९ घर पूर्णरुपमा जलेका थिए भने १५ घरमा आंशिक क्षति भएको थियो। 

पक्राउ परेका तेजबहादुरले व्यक्तिगत रिसिइबीका कारण जैसिके बोहोराको घरमा आगो लगाउँदा पुरै बस्ती जलेको बताएका छन्। प्रहरी नायव उपरीक्षक डिएसपी दानबहादुर थापाले निज बोहोरालाई पहिलोपटक जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको बताए।  

यसअघि जुम्ला तिला गाउँपालिका ७ को गोठी गाउँमा आगलागी हुँदा २९ घर नष्ट भएका थिए। पशु चौपाय र अन्नपात सबै जलेर नष्ट भएको थियो। मुल्ली बस्तीमा पनि मानवीय, पशुचौपायको क्षति नभएपनि अन्नपात पूर्णरुपमा जलेको वडाध्यक्ष शेरबहादुर बोहोरा बताउँछन्।

प्रकाशित मिति: : 2021-04-09 21:14:00

प्रतिकृया दिनुहोस्