नापी कार्यालयको सुविधासम्पन्न भवन प्रयोगविहीन

बेनीमा करोडौँ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालय, म्याग्दीको भवन प्रयोगविहीन बनेको छ।

नापी विभागले ठेक्कामार्फत बेनीको मङ्गलाघाटमा २०७७ मङ्सिरमा साढे तीन तले पक्की भवन निर्माण गरेको थियो। मासिक ४० हजार खर्चेर भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेको नापी कार्यालयको दुई करोड ४० लाखमा निर्माण भएको भवन प्रयोगविहीन बनेको हो।

विसं २०७५ मा मसुद–बिएन–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको भवन निर्माण योजनाको अन्तिम पटक थपिएको म्याद गत मङ्सिर मसान्तमा सकिएको छ। नापी कार्यालय म्याग्दीका प्रमुख तुलसी पौडेलले बाटोको निकास नहुँदा भवन प्रयोगमा ल्याउन नसकेको बताए।

“बाटोमा राखिएका पोल हटाउन विद्युत् प्राधिकरण, पाइप व्यवस्थापन गर्न सङ्घ र प्रदेशका खानेपानी कार्यालय तथा तुइन हटाउन बेनी नगरपालिका र जिल्ला समन्वय समितिलाई आग्रह गरेका छौँ”, उनले भने, “बिजुलीका पोल, पाइप र तुइनको टावर नहटाउँदासम्म मूल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास हुँदैन।” बेनी–मङ्गलाघाट सडकदेखि नापी कार्यालयको भवनमा पुग्ने करिब २० मिटर बाटोको बिचमा विद्युत्का पोल, खानेपानीका पाइप र तुइनको टावर छन्। 

प्रकाशित मिति: : 2021-04-03 08:11:00

प्रतिकृया दिनुहोस्