कर्णाली प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री शाहीको ध्यानाकर्षण (पत्रसहित)

कर्णाली प्रदेशका प्रदेश प्रमुखले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएका छन्। 

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई नेकपा एमाले स‌ंसदीय दलले लिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण गराएका हुन्।

गत चैत्र ४ गते एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको बताएको थियो। त्यसपश्चात चैत्र ५ गते नै प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई पत्र पठाएर विश्वासको मत लिन जानकारी गराएका थिए। 

यहीबीच प्रदेश प्रमुखको कार्यालयले मगंलबार एक विज्ञप्ति जारी गर्दै एमालेले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्री शाही अल्पतमा परेको जानकारी दिएको हो।  

प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'चैत ५ देखि लागू हुनेगरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मा ध्यानाकर्षण पत्र प्रेषित गरिएको छ।'

संविधानअनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी भएको दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। 

प्रकाशित मिति: : 2021-03-31 07:18:00

प्रतिकृया दिनुहोस्