जाडो महिनामा हाडजोर्नीमा दुखाइ हुनु वा भइरहेको दुखाइ बढ्नु सामान्य मानिन्छ।
तर, जोर्नीको दुखाइसम्बन्धी बाथ रोगजस्ता दीर्घकालीन समस्या हुने मानिसलाई जाडोको समयमा भन्दा हावा चलेको बेला दुखाइ बढी हुने अध्ययनले देखाएको छ।
मोबाइल फोनमार्फत दुई हजार पाँच सय मानिसलाई समावेश गरेर म्यान्चेस्टर विश्वविद्यालयले गरेको अध्ययनमा दुखाइका लक्षण न्यानो तर ओसिलो दिनमा थप खराब हुने पत्ता लागेको छ।
बेलायतका बाथ रोग, फाइब्रोमायाल्जिया, टाउको दुख्ने र स्नायुसम्बन्धी दुखाइका बिरामीलाई सहभागी गराइएको अध्ययनलाई ‘क्लाउडी विथ अ चान्स अफ पेन’ नाम दिइएको थियो।
अध्ययनमा सहभगिता जनाएको मानिसको एकदेखि १५ महिनासम्म प्रत्येक दिन दुखाइको लक्षणबारे विवरण राखिएको थियो।
सहभागीले बढी आर्द्रता भएको र अत्यधिक हावा चलेको दिन सामान्यभन्दा २० प्रतिशत बढीले दुखाइ बढेको अनुभव गरेका थिए।
चिसो मौसमको ओसिलो दिनमा पनि दुखाइ झन् बढ्ने देखिएको थियो। तापक्रम वा वर्षा मात्रै यसको एकल कारण नभएको बताइएको छ।