जब मञ्चमै पुगेर ‘जोगिरा सररर’ भन्दै नाच्न थाले सतावन मियाँ (भिडियो)

विजय साह

जनकपुर

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित सखुवाबजारमा आज होलिको अवसरमा शुभकमना आदान–प्रदान कार्यक्रम आयोजना गरियो। 

नेकपा (एमाले) नगर समितिले नेता तथा कार्यकर्ताबीच होलीको शुभकामना साटासाट गर्न कार्यक्रम राखेका थिए। कार्यक्रममा पूर्वमन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्यता र बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोको विशिष्ठ आतिथ्यतामा थियो। 

कार्यक्रमको शोभा बढाउन आयोजकले मिथिलामा गाइने मौलिक गीत ‘जोगिरा’ गाउने टोलीलाई पनि निम्ताएका थिए। स्वागत मन्तव्यपछि उद्घोषकले ‘जोगिरा’ गाउने टोलीलाई प्रस्तुतिका लागि निम्तो दिएका थिए।

मञ्चमा पुगेर जोगिरा टोलीले ‘मिथिलामे राम खेलैय होरी हो मिथिलामे’ बोलको गीत गाउन सुरु गरेका मात्र के थिए, दर्शकदीर्घाबाट मुस्लिम समुदायका एक वृद्ध सतावन मियाँ जुरुक्क उठेर मञ्चमा पुगे र नाच्न थाले। 

उनले जोगिरा नाँच्ने शैलीमै नाँचेका थिए। उनको नाँचमा मन्त्रमुग्घ भएका अथिति तथा कार्यक्रममा उपस्थित दर्शक एकटक्क भएर हेरिरहे। 
हिन्दुले मनाउँदै आएको होलीको उक्त कार्यक्रममा मुस्लिम समुदायका ती वृद्ध नाँचेपछि एकछिनमै अरु पनि मञ्चमै पुगेर नाच्न थाले। जोगिरा टोलीले गीत गाउन्जेल उनी नाचिरहे। दर्शक र अथितिले पनि ताली पिटेर हेरे। 

मुस्लिम समुदायका भएर पनि हिन्दुले मान्दै आएको होलीमा गाइने मिथिलाको मौलिक गीतमा यसरी नाचेर उनले रमाइलो त गरे नै, जातीय सद्भाव पनि प्रकट गरे। 

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ बस्ने सतावन मियाँ भन्छन्, 'हिन्दु, मुस्लिम हामी सबै एक हौं, काँधमा काँध मिलाएर अगाडी बढ्नुपर्छ।' 

मानिसले एकअर्काको रितिरिवाजलाई सम्मान गर्नुपर्ने र चाडपर्वमा सहभागी हुनुपर्ने उनको मान्यता छ। उनी भन्छन्, 'यसले समाजमा भाईचाराको सदभाव सदा कायम रहन्छ।' 

उनी थप्दै भन्छन्, 'म बसेको टोलमा हिन्दु र मुस्लिम एक भएर बसेका छौं। अहिलेसम्म धर्म–संस्कृतिको नाउमा कुनै भेदभाव भएको छैन र हुन पनि दिन्नौ।' 
पछिल्लो समय विभिन्न ठाउँमा फरक धार्मिक अस्था राखेकै कारण सामाजिक असमानता र झडप भएको सुनिन्छ। तर सतावन मियाँले भने सामाजिक सद्भावको गतिलो उदाहरण दिएका छन्।


 

प्रकाशित मिति: : 2021-03-29 22:23:00

प्रतिकृया दिनुहोस्