पोखरा महानगरपालिकाको सबैभन्दा उचाइमा अवस्थित वडा नं २० को मौजामा पूर्वाधारयुक्त ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानलगायतका संरचना निर्माण हुने भएको छ।
समुद्री सतहबाट एक हजार ६५० मिटर उचाइमा निर्माण गरिने उच्च पर्वतीय खेल मैदानको शनिबार महानगरपालिका प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमका बीच संयुक्तरूपमा शिलान्यास गरे।
पोखरा महानगरपालिकाले उच्च पर्वतीय खेल मैदान पूर्वाधार निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकूदको अभ्यासस्थलका रूपमा विकास गर्ने गरी चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट काम शुरु गरेको हो। महानगरले पर्वतीय खेल मैदानलाई महानगर गौरवको योजनाका रूपमा लिएको छ।
मौजाको तोयँढापडाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल, बास्केटबलसहितका खेल पूर्वाधार निर्माणका लागि १६ करोडको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको महानगर प्रमुख जिसीले जानकारी दिए।
फुटबल मैदान (इलाभेन साइ), बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा (चेञ्जिङ रुम), दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट, चमेनागृह, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने डिपिआरमा उल्लेख छ।
चालु आवमा खेल मैदानका लागि ५० लाख बजेट विनियोजन गरिएकामा सो बजेटबाट खेल मैदान सम्याउने र तारबारको काम गरिने प्रमुख जिसीले बताए। रासस