८ लाख घुस फालेर गाउँपालिका अध्यक्ष भागेपछि अफिसमा लागेको ताला २४ दिनपछि खोलियो

विजय साह

जनकपुर

धनुषाको बटेश्वर गाउँपालिकामा अधिकृत र लेखा शाखामा लागेको ताला २४ दिनपछि आज (विहिबार) खोलिएको छ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले कमिसन वापत लिइएको ८ लाख रुपैयाँ फालेर अख्तियारको चङ्गुलबाट भागेपछि आक्रोशित बनेका स्थानीय राजनीतिक दल र नागरिक समाजले कार्यालयबाट महत्वपूर्ण कागजातहरु गायब गर्नसक्ने भन्दै गाउँपालिका अध्यक्ष, अधिकृत र लेखा शाखामा ताला लगाइदिएका थिए।

स्थानीय राजनैतिक दल, नागरिक समाज र अधिकृत रुद्रनारायण यादवबीच छलफल पश्चात अधिकृत र लेखा शाखाको ताला खोलिएको स्थानीय राजनैतिककर्मी प्रमोदकुमार महतोले बताए। गाउँपालिका अध्यक्ष राउतको कार्यकक्षमा लगाइएको ताला यथावत् छ ।

अधिकृत यादवले अधिकृतको जिम्मेवारी पाएदेखिको सबै हरहिसाब पारदर्शी गर्ने, संवैधानिक निकाय तथा अख्तियारको कार्यालयमा निवेदन परेका कागजातहरु सुरक्षित तवरले राख्ने सहमति बनेपछि कार्यालय खोलिएको महतोले जनाए।

गएको फागुन १७ गते सोमबार साँझ कमिसन वापत लिएको ८ लाख रुपैँया गाडीबाट फालेर फरार भएका बटेश्वर गाउँपालिका अध्यक्ष  राउत अझै फरार अवस्थामा छन्।

उनलाई विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै दिनहुँ बिरोध प्रदर्शन गर्दै आएका थिए।

बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिदैँ आएको आरोप उनीहरुको छ। स्थानीयले विकासे योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्न समेत माग गरेका छन्।

प्रकाशित मिति: : 2021-03-25 20:10:00

प्रतिकृया दिनुहोस्