तलब भत्ताको माग गदैँ प्रदेश २ सरकारविरुद्ध स्वास्थ्यकर्मी आन्दोलित

विजय साह

जनकपुर

कोरोना महामारीका बेला करारमा खटिएका स्वास्थ्यकर्मीहरुले तलब भत्ताको माग गदैँ प्रदेश २ सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

बिहिबार जनकपुरधामस्थित बारहबिघा मैदानबाट पम्पलेट र ब्यानर बोकेर जानकी मन्दिर, शिवचौक, भानुचौक हुँदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालयतर्फ प्रदर्शन गदैँ बढेका स्वास्थ्यकर्मीहरुलाई मिल्सएरियामा सुरक्षाकर्मी रोकेका थिए। 

मुख्यमन्त्रीको कार्यालय अगाडि सभा, जुलुस र प्रदर्शन निषेधित क्षेत्र भएको बताउँदै सुरक्षाकर्मीले उनीहरुलाई रोकेको हो। 

मिल्सएरियामै सुरक्षाकर्मीले रोकेपछि आक्रोशित बनेका स्वास्थ्यकर्मीहरुले बीच सडकमै बसेर प्रदेश सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। 

करिब २ घण्टाको नाराबाजीपछि मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले वार्तामा बोलाएका थिए।

मुख्यमन्त्री जनकपुर बाहिर कार्यक्रमका लागि गएकाले आउँदो बुधबार मुख्यमन्त्रीसँग भेटेर समस्याको निकास खोज्ने प्रतिबद्धता गरेपछि प्रदर्शनकारीले तत्काललाई विरोधका कार्यक्रम स्थगित गरेका छन्।

विरोध प्रदर्शनको अगुवाई गरिरहेका स्वास्थ्यकर्मी शुसिल यादवले प्रदेश सरकारले तलब भत्ता उपलब्ध गराउने कुनै छाँटकाँट नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए। करारमा खटिएका करिब चार सय जना स्वास्थ्यकर्मीहरुले चार महिनाको तलब भत्ता पाएका छैनन्। उनीहरुले साउनदेखि कार्तिक मसान्तसम्म करारमा काम गरेका थिए। 

प्रदेश २ सरकारको मन्त्रिपरिषदको निर्णयअनुसार समाजिक विकास मन्त्रालयको निर्देशनमा प्रादेशिक र जिल्ला अस्पतालमा उनीहरु काम गरेका थिए। ‘महामारीका बेला ज्यानको समेत प्रवाह नगरी घरपरिवारबाट महिनौसम्म टाढा बसेर काम गरेका थिए’ यादवले भने।
  
प्रदेश २ को समाजिक विकास मन्त्रालयले साउन १ गते प्रादेशिक र जिल्ला अस्पताललाई पत्र लेख्दै कोभिड–१९ नियन्त्रणका लागि सेवा करारमा खटिएका कर्मचारीहरुलाई कोरोना नियन्त्रण भई नसकेकाले आवश्यकता र औचित्यको आधारमा ती कर्मचारीहरुलाई ०७७/०७८ को पहिलो चौमासिकसम्मका लागि म्याद थप गर्न निर्देशन दिएको थियो। 

म्याद थप तथा करारका स्वास्थ्यकर्मीहरुले प्रादेशिक अस्पताल जनकपुर, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र जिल्ला अस्पतालले सञ्चालन गरेको कोरोना इपिसेन्टरमा रही काम गरेका थिए। 

करारमा खटिएका स्वास्थ्यकर्मीले समयअवधि समाप्त भएपछि काम छोडिसकेका छन भने कतिपय अहिलेसम्म काम गर्दै आएका छन्। 

स्वास्थ्यकर्मीलाई बर्खास्त गर्ने बिषयमा प्रदेश सरकार कुनै पत्राचार नगरेकोले उनीहरु अहिलेसम्म कार्यरत रहेका छन्। 

तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मीहरुको समूहले गएको माध २७ गते मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र समेत बुझाएका थिए। 

ज्ञापनपत्र बुझाइएको यतिका दिन भइसक्दा पनि मुख्यमन्त्री राउतले कुनै पहल नगरेकाले आन्दोलनमा होमिनु परेको प्रदर्शनमा सहभागि भएकाले बताएका छन्।

समाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले रकम निकासको लागि आर्थिक मन्त्रालयमा प्रस्ताव पेश गरिसकेको र आर्थिक मन्त्रालयको क्याबिनेटले निर्णय पास गरेको चिठ्ठी प्राप्त भए हुन बितिकै तलब भत्ता उपलब्ध गराउने भनी आलटाल गर्ने गरेको अर्का स्वास्थ्यकर्मी पप्पुकुमार यादवले बताए।

‘महामारीमा ज्यान मतलब नगरी घरपरिवारबाट बसेर काम गरेकाले आर्थिक संकटमा परेका छौँ, कोठा भाडालगायत पकेट खर्च चलाउन साथीभाइसँग लिएको सापटी रकम तिर्नसमेत समस्या भएको छ’ उनले भने।

प्रकाशित मिति: : 2021-03-25 18:03:00

प्रतिकृया दिनुहोस्