चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ। कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ।
एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आएकी भरतपुर महानगरपालिका-१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दान गरेकी थिईन्। राजधानी बाहिर कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अनुमति लिई पहिलो पटक सफल प्रत्यारोपण गरिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए।
कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक सर्जन डा सञ्जय यादव, डा एकानन्द सिंह, डा प्रवीण जोशी, डा जयन्तकुमार साह, डा अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा किरण अधिकारी, डा सुरेश गौतम, डा नवीन यादवलगायतको समूहले सफल प्रत्यारोपण गरेको बताइएको छ।
विगत वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति र कलेजोसम्बन्धी विशेषज्ञका प्रयासबाट कलेजो प्रत्यारोपण गरेको उनको भनाइ छ। कलेजो प्रत्यारोपणका लागि चार सर्जन, तीन क्रिटिकल केयर, तीन एनेस्थेसियोलोजिष्ट र १० विशेषसहितको टोली अस्पतालमा छ।
नेपालमा नै उपचार र शिक्षणमा अग्रणी मानिने कलेजका प्रबन्ध निर्देशक एवं अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेले सफल रुपमा कलेजो प्रत्यारोपण गर्नु कलेजको उपलब्धिका रुपमा लिइएको बताए। रासस