जनगणनाको लागि जाजरकोटमा कार्यालय स्थापना

जनगणनाको तयारीका लागि जाजरकोट सदरमुकाम खलङ्गामा कार्यालय स्थापना भएको छ।

कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ। तथ्याङ्क कार्यालय सुर्खेतबाट केही कर्मचारी खटाएर कार्यालय स्थापना गरिएको हो।

जिल्लामा जनगणना, २०७८ का लागि ३०४ जनशक्ति आवश्यक पर्ने भएको छ। जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो। जम्मा ६४ सुपरीवेक्षक र २४० गणक परिचालन हुने जिल्ला जनगणना कार्यालय जाजरकोटका प्रमुख जनकबहादुर बोहराले जानकारी दिए।

उनका अनुसार सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्। अहिले जनगणनाका लागि प्राविधिक तयारी भइरहेको छ। गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्वेक्षण गर्नेछन्।

सुपरीवेक्षकले विसं २०७८ वैशाख २५ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन्। गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन्।

प्रकाशित मिति: : 2021-03-24 08:12:00

प्रतिकृया दिनुहोस्