मौरीबाट उपचार केन्द्र स्थापना गरिदै

पूर्वी चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम शुरुआत गरिएको छ।

मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका-६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो। प्रदेश सरकारको पाँच लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको सो केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ।

अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालयका प्रमुख डा शिव रिजालले जानकारी दिए। उनले भने, “अहिले भौतिक संरचना निर्माणको काम भइरहेको छ।”

केन्द्र सञ्चालन अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने छ। सो भवनका लागि आवश्यक उपकरणको व्यवस्थासँगै जनतामा सचेतना जगाउने काम भइरहेको छ। 

केन्द्रमा मह, कुट, कुटको चोप, विभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ। रिजालका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ।

रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्सोको उपचार गर्न सकिने उनले बताए।रासस

प्रकाशित मिति: : 2021-03-20 10:19:00

प्रतिकृया दिनुहोस्