कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएको फागुन १६ गते तत्कालीन उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद अहिले रिक्त रहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन १७ गते प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावललाई आर्थिक तथा प्रशासनिक अधिकारसहितको निमित्त उपकुलपति जिम्मेवारी दिएको छ।
त्यस्तै मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीनलाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरेको थियो।
मन्त्रालयले फागुन २४ गते तीनै प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि सात दिनको समयावधि राखेर आवेदन मागको सूचना गरेको थियो। प्रतिष्ठान पाटन र प्रतिष्ठान पोखरामा १२/१२ को आवदेन परेको छ भने प्रतिष्ठान कर्णालीमा २१ ले उपकुलपतिका लागि आवेदन दिएका छन्। यसबाट उपकुलपतिको पदमा नियुक्ति हुनेको प्रतिस्पर्धा कडा हुने देखिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यवाहक उपकुलपति डा मङ्गल रावल, निवर्तमान उपकुलपति प्रा डा वाग्ले, डीन डा रेशम राना, रेक्टर निरेश थापा, डा सूर्यमान लिम्बू, प्रा डा तरुण पौडेल, डा राजीव साह, प्रा डा रामप्रसाद उप्रेती, प्रा डा गेहनाथ बराललगायत २१ ले आवेदन दिएका हुन्। रासस