प्रदेश सरकारद्वारा वार्षिक प्रगति विवरण सार्वजनिक

File Photo
File Photo

आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो जानकारी गराएको हो। प्रदेशमा कालोपत्र सडक ५०।९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.७ किलोमिटर निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

सोही क्रममा ३० वटा पुल निर्माणको क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडकको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। नीति तथा कार्यक्रममा रहेका १० वटा झोलुङ्गे पुलमध्ये तीनवटा झोलुङ्गेको निर्माण कार्य सम्पन्न भएको प्रदेश नं २ को भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बताए।

सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन गरिएको र प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल ट्युबवेल निर्माणबाट प्रदेशको १६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको मन्त्री सोनलले बताए।

सो अवधिमा २४० वटा डिप ट्युबवेल तथा ३३ वटा पावर ड्रिल ट्युबवेल निर्माण, प्रदेशको करिब पाँच हजार ४३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ। नदी कटान र डुबानबाट एक हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ। रासस

प्रकाशित मिति: : 2021-03-11 09:45:00

प्रतिकृया दिनुहोस्