चितवनका गैँडा भारत जादै

File Photo
File Photo

चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो।
 
केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि अन्य केही गैँडा ल्याउन सकिएको छैन। त्यसपछिका वर्षहरुमा पनि बाढीले बगाएर गैँडा भारत पुर्याएको अनुमान छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हाल निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ झण्डै ७० प्रतिशत हाराहारी गैँडा रहेको अनुमान छ।

आउँदो चैत ९ गतेबाट गैँडा गणना गरिँदै छ। गणनापश्चात् यकिन तथ्याङ्क आउने उनले बताए। सानो ठाउँमा उच्च चाप रहेको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा भारतीय सीमामा वाल्मीकि टाईगर रिजर्ब रहेको छ। पर्साको ठोरीदेखि त्रिवेणीसम्म भारतीय सीमामा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएका छन्।

सीमा क्षेत्रमा चुरे पहाड, खोला, जङ्गल र मानवबस्तीसमेत रहेको छ। बरालले नारायणी नदी हुँदै र चुरे पहाडबाट समेत गैँडा भारत जाने सम्भावना रहेको बताए। उनका अनुसार नदीबाट बगेर गण्डक ब्यारेज हुँदै गएका गैँडा फर्किन असम्भव छ। गण्डक ब्यारेजपछि नदीको दुवैतर्फ ठूला तटबन्ध रहेकाले नदीबाट बाहिरिनसमेत कठिन हुने उनले बताए। पुनः फर्किएर आउन पनि बाँधका कारण सम्भावना छैन। रासस

प्रकाशित मिति: : 2021-03-11 09:35:00

प्रतिकृया दिनुहोस्