सत्तासमीकरणको दौडधुपले संसद् बैठक प्रभावित

सत्तासमीकरणको दौडधुपले प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ। बुधबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ भने आगामी बैठक चैत ३ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभा पुनर्स्थापनापछिका लगातार दुई बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएका छन्। बुधबार र गत आइतबार पनि उनी संसद् भवन बानेश्वर पुगे, तर बैठकमा सहभागी भएनन्। काम गर्न नपाएको भन्दै प्रधानमन्त्री ओलीले ५ पुसमा गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक बन्दै उल्टाइदिएपछि उनी नैतिक दबाबमा छन्। 

बुधबार १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो। प्रधानमन्त्री ओली १२:५० मा संसद् भवन पुगेका थिए। तर, बैठक सुरु नहुँदै उनी बाहिरिए। १० मिनेटजति संसद् भवनमा बसेका उनी बैठक सुरु हुने समयमा चाहिँ बाहिरिएका थिए। बैठक नै नबसी प्रधानमन्त्री हिँडेपछि पत्रकारले बैठकमा नबस्नुको कारणबारे सोध्दा उनले जवाफ दिन मानेनन्। बरु, ‘यति भए भैगो नि !’ भन्दै निस्किए। बुधबारको बैठकमा बहालवाला सांसद र पूर्वसांसदहरूको शोकप्रस्ताव मात्रै पारित गर्ने कार्यसूची थियो।

प्रकाशित मिति: : 2021-03-11 06:31:00

प्रतिकृया दिनुहोस्