काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई सेतो र रातो नम्बर प्लेटका गाडी

कोरोना महामारीका वेला ६० लाखको गाडी खरिद, जगेडा पुलमा राखिएको रातो नम्बर प्लेटको गाडी चार महिनादेखि महालेखापरीक्षकका अडिटरले प्रयोग गर्दै

काठमाडौं महानगरपालिकाले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर दुरुपयोग गरेको भेटिएको छ । महानगर प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतले घरायसी प्रयोजनका लागि सरकारी गाडीको प्रयोग गरिरहेका छन् । 

कोरोना महामारीको बीचमा आवश्यक नै नभए पनि पाँच महिनाअघि महानगरपालिकाले ६० लाख रुपैयाँमा नयाँ गाडी किनेको थियो । जसमा रातो नम्बर प्लेट छ । प्रदेश ३–०१–०२३ च ३७२३ नम्बरको सो गाडी प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलगायतले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेका छन् । 

चार वर्षअघिदेखि काठमाडौं महानगरका प्रशासकीय अधिकृतले बा.२झ १५६४ नम्बरको सेतो प्लेटको गाडी चढ्ने गरेका छन् । ‘अहिलेसम्म कोही पनि प्रमुख प्रशासकीय अधिकृतले दुईवटा गाडी प्रयोग गरेका थिएनन् । तर, उहाँले बिदाको दिन प्रयोग गर्ने गर्नुभएको छ । दसैँको वेला पनि उहाँ त्यही गाडी लिएर घर जानुभएको थियो,’ महानगरका एक कर्मचारीले भने । कोरोना महामारी सुरु भएपछि गाडी खरिद नगर्ने निर्णय सरकारले गरे पनि त्यसविपरीत महानगरपालिकाले खरिद गरेको थियो ।

महानगरका एक कर्मचारीका अनुसार प्रजातन्त्र दिवसका दिन पनि ज्ञवाली उक्त रातो प्लेट गाडीमै राष्ट्रिय सभागृह पुगेका थिए । जहाँ पार्क गरेर उनी र मेयर विद्यासुन्दर शाक्य काभ्रेको एक कार्यक्रममा पुगेका थिए । निजी प्रयोजनका लागि प्रयोग गरिने गाडीमा लाग्ने इन्धन पनि महानगरले नै व्यहोर्दै आएको छ । नियमानुसार महानगरका सहसचिवस्तरका कर्मचारीलाई (कार्यकारी प्रमुख) ८० लिटर इन्धन दिने गरिएको छ । तर, त्यसबाहेक विभिन्न आयोग र महानगरअन्तर्गतकै विभिन्न आयोजनाले पनि तेल दिने गरेका छन् । 

प्रकाशित मिति: : 2021-03-02 20:22:00

प्रतिकृया दिनुहोस्