नयाँदिल्ली सरकारले विद्यार्थीहरुको परीक्षा नलिने, सीधै उत्तीर्ण गरायो 

बिएल संवाददाता

नयाँ दिल्ली
Photo by Tenzin Choejor
Photo by Tenzin Choejor

भारतको नयाँदिल्ली सरकारले विद्यार्थीहरुको परीक्षा नलिने निर्णय गरेको छ।

कोरोना संक्रमणको महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेकाले कक्षा तीनदेखि आठसम्मका विद्यार्थीहरुको लिखित परीक्षा नलिने निर्णय गरेको दिल्लीका उपमुख्यमन्त्री एवम् शिक्षामन्त्री मनिष सिसोदियाले जानकारी दिएका हुन्।

तर असाइन्मेन्ट र प्रोजेक्ट वर्क भने दिइने छ। यसैको आधारमा प्राप्ताङ्क र ग्रेड निर्धारण गरी विद्यार्थीहरुलाई उत्तीर्ण गराइने उनले बताए।

साथै कक्षा शिशुदेखि दुई कक्षासम्म सबै विद्यार्थीहरुलाई माथिल्लो कक्षामा सीधै भर्ना गरिने जनाइएको छ।

शिक्षामन्त्री सिसोदियाले भनेका छन्, ‘सबै बालबालिकाहरुलाई नो डिटेन्सन पोलिसीअनुसार उत्तीर्ण गराइने छ। तर यो वर्ष बालबालिकाहरुले सेमी अनलाइन क्लासमा के सिके भनेर बुझ्न जरुरी छ ताकि आगामी शैक्षिक सत्रमा राम्रो तयारी गर्न सकियोस्।’

दिल्ली सरकारले आगामी शैक्षिक सत्रमा बालबालिकाहरुका लागि ‘देशभक्ति पाठ्यक्रम’ ल्याउने घोषणासमेत गरेका उनले बताए।

प्रकाशित मिति: : 2021-02-25 08:36:00

प्रतिकृया दिनुहोस्