इन्डोनेसियामा महिलाको दाबीः हावाबाट गर्भवती, एक घण्टा मै छोरीको जन्म

Photo - Digitalhayat.in
Photo - Digitalhayat.in

इन्डोनेसियामा एक महिलाले अचम्म लाग्दो दाबी गरेकी छन्। उनी आफू हावाबाट गर्भवती भएको बताउँछिन्।

महिलाले अस्पताल पुग्दा हावाबाट गर्भवती भएको दाबी मात्रै गरिनन्। उनले त 'चेकअप' लगत्तै छोरीको समेत जन्म दिइन्।

महिलाको अचम्म लाग्दो बयानसँगै स्थानीय प्रहरीले यस विषयमा अनुसन्धान जारी गरेको छ। उनी श्रीमानसँगको सम्बन्ध विच्छेदपछि अलग बस्दै आएकी छन्। उनको एक बच्चाको भएको पनि प्रहरीले बताएको छ। 

सीती जिनाह नामकी ती महिलाले आफू गर्भवती भएको बारेमा सबैलाई चकित पार्ने जवाफ दिएकी छन्। 'बुधबार प्रार्थना गरेपछि  भुइँमा सुतिरहेकी थिए'- उनी भन्छिन्, 'त्यसपछि सुतेकै समयमा मेरो शरीरमा हावाले प्रवेश गरेको महसुस गरे।' 

जिनाहले शरीरमा हावा पसेको १५ मिनेटपछि पेट दुख्न थालेको दाबी गरेकी छन्। बिरामी परेपछि उपचारका लागि सरकारी अस्पतालमा लगिएको थियो। अस्पतालमा भर्ना भएको एक घण्टा-मै उनीले स्वस्थ छोरीलाई जन्म दिएकी थिइन्।

शरीरिक सम्बन्ध बीना नै आफू गर्भवती भएको जिनाहले बताएकी छन्। उनी हावामार्फत नै गर्भवती भएको दाबी गर्छिन्। उनको अचम्म लाग्दो यस्तो बयान मलेसियाको मिडियामा प्रकाशित भएपछि एकाएक चर्चामा आएको छ। 

यस घटनापछि अस्पताल प्रमुख इमान सुलेमानले स्वास्थ्य जाच लगतै बच्चा जन्मिएको जानकारी दिएका छन्। हावाबाट गर्भवती भएको भन्ने ती महिलाको दाबीलाई भने अस्पताल स्रोतले इन्कार गरेको छ। 

स्थानीय मानिसहरूले गर्भावस्थाको वास्तविक रुप लुकाउनलाई यस्तो नाटक गरेको आरोप लगाएका छन्। इन्डोनेसियाको धार्मिक समाजले अवैध तरिकाबाट बच्चा जन्माउनेलाई अपराध मान्ने गरेको छ। 

प्रकाशित मिति: : 2021-02-18 20:38:00

प्रतिकृया दिनुहोस्