गैरआवासीय नेपाली संघले स्वास्थ्यमन्त्रीसँग गर्‍यो खोप किन्नेबारे छलफल

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीसँग भेटी कोभिड–१९ को खोप नेपालमा उपलब्ध गराउनेबारे छलफल भएको छ। गैरआवासीय नेपाली संघमार्फत् कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको संघले जनाएको छ।
 
भेटमा अध्यक्ष पन्तले संघले कोभिड–१९ को रोकथाम, राहत र नेपाल फिर्तीमा पुराएको सहयोग र नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराएका स्वास्थ सामाग्रीहरुका बारे प्रकाश पारेका थिए।

उनले संघको स्वास्थ्य समितिले हाल सम्म पनि परिचालन गरिरहेको स्वास्थ्य स्वयंसेवकहरुमार्फत भइरहेका विभिन्न कामहरुका विषयमा मन्त्री त्रिपाठीलाई अवगत गराए।

नेपालमा कोभिड–१९ को खोप आपूर्तिमा संघले के कस्तो सहकार्य गर्न सक्छ र यसको लागि संघले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुबाट आर्थिक सहयोग संकलन गर्ने योजना अघि सारेको जानकारी गराएका थिए।

सो अवसरमा अध्यक्ष पन्तले संघको स्वास्थ्य समितिको तर्फबाट तयार पारिएको प्रारम्भिक साम्झौता पत्र समेत मन्त्री त्रिपाठीलाई अध्ययनको लागि हस्तान्तरण गरेका थिए।

भेटमा मन्त्री त्रिपाठीले संघले नेपाल सरकारलाई स्वास्थ मन्त्रालय मार्फत उपलब्ध गराएका सहयोगको लागि धन्यवाद व्यक्त गर्दै कोभिड–१९ को खोप जीटूजीमार्फत मात्र खरिद गर्न सकिने जानकारी दिएका थिए।

उनले उत्पादन र मागमा देखिएको असमानजस्यताले गर्दा खोपको उपलब्धतामा समेत केही कठिनाई भएको  र यसको प्रयोगको कार्यविधि समेत तयार नभएको अवस्थामा सोचे जस्तो प्रयोगमा ल्याउन नसकिएको पनि बताए। हाल यसको प्रयोगको लागि कार्यविधिहरु समेत मन्त्रालयले तयार गरिरहेको मन्त्री त्रिपाठीले जानकारी गराए।

सरकारले हाल तीन चोटि परिक्षण गरिसकेको थप २२,५०,००० खोप खरिद गर्न प्रयास गरिरहेको जानकारी गराउंदै भने, यो माग र आपूर्तिको समस्या मात्र नभई एक राजनीति समस्याको रुपमा समेत देखापरेको अवगत गराए।

उनले हाल नेपाल सरकारले बीचौलिया मार्फत कुनै पनि खोप खरिद नगर्ने तर सरकारको स्वीकृति लिई नेपालका निजी अस्पतालहरुले खोप ल्याएमा सरकारले तोकेको मूल्यमा खोप लगाउन दिनसकिने बताएका थिए। 

अन्त्यमा, संघको नेपाल सरकारलाई खोपको लागि केहि रकम उपलब्ध गराउने योजना सकारात्मक रहेको र संघले तयार पारेको सम्झौता पत्र अध्ययन गरी आवश्यक सुझाव दिने समेत बताए। छलफलमा निवर्तमान सांसद विरोध खतिवडा, संघका उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशकको सहभागी थिए।

प्रकाशित मिति: : 2021-02-16 15:20:00

प्रतिकृया दिनुहोस्