गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी किशोरी भागरथी भट्टको हत्यारा छिट्टै पत्ता लाग्ने बताएका छन्। नेपाल विद्यार्थी संघले मंगलबार बिहान बुझाएको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले भने, ‘सरकार घटनाको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित छ।’
प्रहरी अपराधीको करिब–करिब नजिक पुगेको भन्दै मन्त्री थापाले अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सकारात्मक सहयोगको पनि आग्रह गरेका छन्।
सोही घटनालाई लिएर नेवि संघ अध्यक्ष राजीव ढुंगानासहितका नेताहरु मंगलबार बिहान पुल्चोकस्थित मन्त्री निवास पुगेका थिए।
गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन ध्यानाकर्षण गराइएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बिएल नेपाली सेवालाइ जानकारी दिए।
विगतमा निर्मला पन्त र सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा ती घटनाका अपराधीलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा अमानवीय र क्रूर घटनाले प्रश्रय पाउँदै गएको भन्दै नेविसंघ नेताहरुले शान्ति सुरक्षाको दायित्व पूरा गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए।