विश्व स्वास्थ्य संगठनका विज्ञहरुको टिम चीनको उहानमा

Photo - Reuters
Photo - Reuters

कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तयार पारेको टिम चीनको उहान शहर पुगेको छ। उनीहरुलाई चीन प्रवेश गर्न चीन सरकारले यसअघि रोक लगाएको थियो। चीनको उहान सहरलाई कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल मानिएको छ। सो स्थानको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह बुधबार त्यहाँ पुगेको हो। 

चीनको उहानमा पुगेको सो समूहले बुधबार त्यहाँ रहेको कोरोना भाइरससम्बन्धी प्रयोगशालाको निरीक्षण पनि गरेको छ। लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो। उहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने निर्णय सो संगठनले हालैमात्र गरेको थियो। 

गएको महिना जनवरी २०२१ देखि अध्ययन शुरु हुने घोषणा गरिएको थियो। चीनले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलाई उहान जाने अनुमति नदिएपछि हालैमात्र उनीहरु त्यहाँ पुगेका छन्। सन् २०१९ को अन्त्यमा पहिलो पटक उहानमा देखिएको कोरोना भाइरसको संक्रमण यतिखेरसम्म विश्वभर नै फैलिएको छ। अझ पछिल्ला दिनहरुमा त यसको नयाँ प्रजातिको पनि सङ्क्रमण शुरु भएको बताइएको छ। 

कोरोना भाइरसको महामारी अझै पनि घट्ने अवस्था देखिएको छैन। विश्वमा दश करोडभन्दा बढी नागरिक संक्रमित भइसकेका छन्। त्यसैगरी यसबाट करिब २२ लाख मानिसको ज्यान गएको छ। विश्वमा खोपको विकास भएको छ र कैयौँ देशमा खोप दिने क्रम पनि शुरु भएको छ। तर पनि यति बेला सम्म पनि कोरोना भाइरसको समस्या घटेको देखिएको छैन। 

विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह चीनको उहानमा रहेको इन्स्टिच्युट अफ भाइरोलोजीमा पुगेर कोरोना भाइरसको उत्पत्ति र यसको विस्तार हुनुका कारणहरुको बारेमा खोजी रहेको बताइएको छ। रासस/एएफपी

प्रकाशित मिति: : 2021-02-03 16:58:00

प्रतिकृया दिनुहोस्