एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निकालेपछि झण्डै ४० प्रतिशत नेता–कार्यकर्ताहरूले ‘विद्रोह’को तयारी सुरु गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेभित्र ‘राष्ट्रवादी नेता’ भनेर चिनिने रावललाई अन्यायपूर्ण ढंगले पार्टीबाट निष्कासन गरेको भन्दै डेढ दर्जन बढी केन्द्रीय सदस्य, १ प्रदेश अध्यक्ष र १३ जिल्ला अध्यक्षले ‘साथ–समर्थन’ दिएको रावलको सचिवालयले दाबी गरेको छ।
‘तानाशाही केपी ओलीले कमरेड भीम रावललाई पार्टीबाट निकालेपछि एमाले पंक्तिमा एकखालको तरंग पैदा भएको छ। यतिबेला केही केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटी र जिल्ला कमिटीका नेताहरूले ओलीको आलोचना गरिरहनुभएको छ,’ रावलको सचिवालयमा रहेका एक सदस्यले भने, ‘अहिलेसम्म १ जना प्रदेश र १३ जना जिल्ला अध्यक्षले विद्रोहको तयारी गर्नुभएको छ।
त्यस्तै, जिल्ला–जिल्लामा जिम्मेवारीविहीन बनाइएका कतिपय पूर्वअध्यक्षहरू पनि नेता रावलको सम्पर्कमा छन्। विद्रोहको तयारीमा रहेका प्रदेश र जिल्ला अध्यक्षहरूको नाम हाललाई गोप्य नै राखिएको छ। र, रावलनिकट नेताहरू आन्तरिक ‘भेला–संवाद’मार्फत् स्थानीय तहसम्मै एमालेभित्र विभाजनको रेखा र्कोने काममा सक्रिय देखिन्छन्।
अन्य प्रदेशको तुलनामा नेता रावलले सुदूरपश्चिममा ६० प्रतिशत नेता–कार्यकर्ताको साथ पाएको दाबी गरिएको छ। सुदूरपश्चिमका सबै जिल्ला कमिटीमा उनको पकड बलियो रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका एक सदस्यले बताएका छन्।
‘यो प्रदेश रावल सरको गृहप्रदेश हो। सुदूरपश्चिममा रावल भनेकै एमाले, एमाले भनेकै रावलजस्तो छ। त्यसकारण पनि यहाँका ६० प्रतिशत नेता–कार्यकर्ताहरूले ओलीलाई साथ दिँदैनन्, रावलको पक्षमै छन्,’ ती प्रदेश कमिटी सदस्यले भने।
त्यस्तै, सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा पनि एमालेभित्र विद्रोहको तयारी तीव्र रहेको रावल समूहको दाबी छ।
पार्टीबाट निकालिएपछि रावलले ओलीको तानाशाह प्रवृत्ति र दमनविरुद्ध देशव्यापीरुपमा भन्डाफोर गर्ने चेतावनी दिइरहेका छन्। काठमाडौंस्थित उनको निवासमा अहिले एमालेभित्र असन्तुष्ट रहेका नेता-कार्यकर्ताहरूको भीडभाड देख्न सकिन्छ।