राजनीतिक विरोधको नाममा रोल्पामा फेरि कलिला विद्यार्थीको प्रयोग (भिडियाेसहित)

प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने निर्णयको विरोध गर्ने नाममा रोल्पामा पुनः विद्यार्थीको दुरुपयोग भएको छ। 

संसद पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रिएको नेकपा (प्रचण्ड)का नेता वर्षमान पुनले शुक्रबार रोल्पाको घर्तीगाउँमा विरोध सभाको आयोजना गरेका थिए।

माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन र घर्ती गाउँका वडा अध्यक्ष ललित घर्तीले विरोध सभामा भाग लिन एक दिनअघि नै विद्यालय पुगेर विद्यार्थीलाई ‘युनिफर्म’सहित सहभागी हुन उर्दी जारी गरेका थिए। 

नेता पुनले आयोजना गरेको विरोध सभामा स्थानीय कृष्ण माविमा अध्ययनरत करिब ३ सय विद्यार्थीलाई ‘युनिफर्म’सहित जवरजस्ती समावेश गराइएको थियो। 

विद्यालय बन्द गराएर विद्यार्थीहरूलाई ‘युनिफर्म’मै पहिला बजार परिक्रमा गराइएको थियो भने करिब तीन घण्टा लामो विरोध सभामा केही विद्यार्थी बसेका देखिन्थे भने केही उभिएका थिए। 

बिएल नेपाली सेवाले विद्यालय शान्ति क्षेत्र घोषित भएको अवस्थामा विद्यार्थीलाई किन राजनीतिक सभामा प्रयोग गरियो भनेर कृष्ण माविका प्रधानाध्यापक कविराज रिजाललाई सोधेको थियो। जसको उत्तर दिँदै रिजालले भने, ‘हामी स्थानीय सरकार मातहत हो। हामीलाई जसरी निर्देशन दिए, त्यसरी चलेको मात्र हो।’

र्‍यालीमा कृष्ण माविमा अध्ययनरत ८, ९ र १० कक्षाका विद्यार्थीलाई उपस्थिति गराइएको थियो। ‘हामीलाई गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन र वडा अध्यक्ष ललित घर्तीले सम्पूर्ण विद्यार्थीलाई युनिफर्ममा आउन उर्दी दिएका हुन्’, रिजालले भने। 
 
यस विषयमा बिएल नेपाली सेवाले कृष्ण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय घर्तीसँग पनि कुराकानी गरेको थियो। जसमा उनले भने, ‘शिक्षक र विद्यार्थी युनिफर्ममा पुगेको मैले पनि सुनेको छु। यो सरासर गलत हो। विद्यालय शान्ति क्षेत्र भनेर हामीले नै हस्ताक्षर गरेका हौं। स्थानीय सरकारले निर्देशन दियो भन्ने वित्तिकै विद्यार्थीलाई पोसाकमा लैजानु अमान्य छ।’

यस्तै, रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले पनि विद्यार्थीलाई पोसाकमा प्रयोग गरिएको प्रति आपत्ति जनाएका छन्। र, उनले सत्यतथ्य बुझेर माथिल्लो निकायमा कार्यवाहीका लागि सिफारिस गरिने बताए। 

‘हामी सबै सुचना संकलन गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी रानाले भने। 

नेपाली कांग्रेस रोल्पाका सभापति तथा पूर्वमन्त्री अमरसिंह पुनले पनि यसको विरोध गरेका छन्। उनले भने, ‘वर्षमान पुन जस्तो राष्ट्रिय छवी भएको नेताले विद्यार्थीलाई आफ्नो कार्यक्रममा उपस्थित गराउनु भनेको खेदजनक कुरा हो।’

‘हाम्रो पार्टीको यस विषयमा गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्रीले संविधान मिच्यो भनेर आफै संविधान मिच्नु झन् अपराध हो। हामीले संविधानमै विद्यालय शान्ति क्षेत्र घोषित गरिसकेका छौं,’ अमरसिंहले बिएल नेपाली सेवासँग भने। 

यस विषयमा बिएल नेपाली सेवाले माडी गाउँपालिकाका वडा अध्यक्ष ललित घर्तीसँग पनि कुराकानी गरेको थियो। जसमा उनले भने, ‘हामीले केही शिक्षकलाई आजको कार्यक्रममा सहभागी भइदिनु भनेर अनुरोध गरेका हौं। तर, दबाब दिएर आउँनैपर्छ भनेका होइनौं। विद्यार्थीहरु आ–आफ्ना संगठनमा थिए होलान। उनीहरू शुक्रबार भएर स्वस्फुर्त आए होलान।’ 

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र पुनको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: : 2021-01-22 20:15:00

प्रतिकृया दिनुहोस्

    Yo sarai galat kaam ho kinko student vaneko hijo ka dinma swatrantra ma parx yasari jun party or aam velama use garna Nepalko kunai pani kununle dine niyam hoen jabki (BARSAMAN PUN) jasto Rolpako xaabi vayko manxelai pani alikati laaj mardo nai vayo jane rw pani bujha napachaau (ka) ...

    • 3 बर्ष अगाडि
    • Juddha Bahadur Gharti