सुत्केरीको उपचारमा लापरवाही भएपछि मंगोलियाका प्रधानमन्त्रीले दिए राजीनामा

बिएल संवाददाता

उलानाबातारा

एक सुत्केरी र उनको शिशुको उपचारमा लापरवाही भएको भन्दै आन्दोलन भएपछि मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन्।
उख्नाले बिहीबार पदबाट राजीनामा दिएका हुन्।

 एउटा अस्पतालमा सुत्केरी र नवजात शिशुसँग कोरोनाभाइरसबाट सङ्क्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो। विरोधसँगै आन्दोलन चर्किएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्रहरी अधिकारीहरूले माफी माग्दा पनि आन्दोलन रोकिएन।

आन्दोलनकारीहरूले सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए। सरकारी अधिकारीले गम्भीर कमी कमजोरी र लापरवाही गरेको आन्दोलनकारीको आरोप छ।

प्रधानमन्त्रीको विरुद्धमा बुधबार पाँच हजार युवा प्रदर्शनकारीहरूले राजधानीमा प्रदर्शन गरेका थिए। उनीहरूले प्रदर्शन गरेको व्यानरमा प्रधानमन्त्रीको राजीनामा पनि मागिएको थियो।

आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री उख्नाले पनि दुःख व्यक्त गर्दै पदबाट राजीनामा दिए।  उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ।

संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले प्रधानमन्त्रीको राजीनामाको पक्षमा मतदान गरेका छन्।

‘प्रधानमन्त्री भएकाले यो घटनाको जिम्मेवारी म लिन्छ,’ उनले भने, ‘दुर्भाग्यवस ती आमा र शिशुलाई व्यवस्थापनमा केही कमजोरी भएकै हो, त्यो दृश्य हृदयविधारक नै छ। त्यसमा सरकारको तर्फबाट गल्ती महसुस गर्दै क्षमा याचना गर्न चाहन्छौँ।’

राष्ट्रिय विपद् आयोगको नेतृत्व गरेका उपप्रधानमन्त्री र विभागीय जिम्मेबारीमा रहेका स्वास्थ्यमन्त्रीले भने प्रत्यक्ष जिम्मेबारी भएकाले आन्दोलनकारीको दवावकै कारण यसअघिनै राजीनामा दिइसेका थिए।

त्यसैगरी लापरवाही भएको अस्पतालका प्रमुखलगायत अस्पतालका अन्य जिम्मेबार व्यक्तिहरूले पनि राजीनामा दिएका छन्।

कोरोनाभाइरस आफ्नो देशमा भित्रिन नदिन मङ्गोलियाले गत बर्षदेखि नै नाकाबन्दी लगायतका उच्च सतर्कताका उपायहरू अपनाएको थियो। त्यहाँ गत नोभेम्बरमा पहिलो आन्तरिक सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि फेरि प्रतिवन्धात्मक व्यवस्थाहरूलाई थप कडा बनाइएको थियो।

प्रकाशित मिति: : 2021-01-22 07:08:00

प्रतिकृया दिनुहोस्