सम्झौता म्याद अगावै स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण

सांकेतिक तस्बिर

मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा ठेक्का सम्झौताको म्याद अगावै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । 

बकैया गाउँपालिका–३ हात्तीसुँढेमा निर्माण गरिएको चारकोठे स्वास्थ्य केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

भवन निर्माणको ठेक्का पाएको विवेक विनिता निर्माण सेवाले बकैया–३ को स्वास्थ्य केन्द्रको भवन सम्झौताको म्यादभन्दा एक महिनाअगावै निर्माण गरेको थियो । निर्माण कम्पनीका प्रमुख राजनप्रसाद बोलखेले भने,  'हामीले पुसको २० गते नै निर्माण सम्पन्न भएको जानकारी दिएका थियौँ, सम्झौताअनुसार भवन निर्माणको म्याद भने माघ २० गतेसम्मका लागि रहेको छ ।'

गत भदौ २९ गते एकै दिन बकैया गाउँपालिका–३ र ७ को आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको थियो । यो अवधिमा दशैँ–तिहारजस्ता चाडपर्व परे पनि निर्माण कम्पनीले तीव्ररुपमा काम अघि बढाएको थियो । वडा नं ७ को भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको बोलखेले बताए ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गाउँपालिकाका सबै नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँचमा पुर्याउन प्रत्येक वडामा एक–एक आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भइरहेको बताए । चालु आर्थिक वर्ष २०७७÷७८ को गाउँपालिकाको बजेटबाट काम गर्ने गरी सबै भवनको ठेक्का विवेक विनिता निर्माण सेवाले पाएको थियो । गाउँपालिकाको रु २७ लाख बजेटमा १२ पिलरको चारकोठे भवन निर्माण गरिएको निर्माण सेवाका प्रमुख बोलखेले जानकारी दिए ।

    विद्यालयलाई कम्प्युटर सहयोग

सानो उमेरमा आफू अध्ययन गरेको विद्यालयको वर्तमान स्थिति के होला ? ‘खोला तर्यो, लौरो बिस्र्यो’ भनेजस्तो ठ्याक्कै नभए पनि धेरैलाई आफू पहिले पढेको विद्यालयको अवस्थाबारे थाहा नहुन सक्छ । मकवानपुरको थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयबाट २० वर्षअघि ८ कक्षा उत्तीर्ण गरेका तीन युवाले भने विद्यालयको अवस्था मात्र बुझेनन्, तीन थान कम्प्युटर पनि सहयोग गरे । 

थाहा नगरपालिका पालुङका दिनेश कार्की, विजयविक्रम श्रेष्ठ र विशाल ढकाललाई आफू पढेको विद्यालयलाई केही सहयोग गर्न सकिन्छ कि भन्ने लागिरहेको थियो । उनीहरुले २०५७ सालमा सो विद्यालयको सबैभन्दा माथिल्लो कक्षा (८ कक्षा) उत्तीर्ण गरेका थिए । प्रधानाध्यापकसँग विद्यालयको अवस्थाबारे बुझ्दा विद्यालयमा कम्प्युटर शिक्षा लागू भए पनि कम्प्युटरको व्यवस्था हुन नसक्दा समस्या भएको जानकारी पाएपछि यी पूर्व विद्यार्थीहरु विद्यालयलाई कम्प्युटर सहयोग गर्न कस्सिएका थिए । 

दिनेश कार्की हाल अष्ट्रेलियामा कार्यरत छन् । उनले नेपाली सिनेमा र म्युजिक भिडियोमा अभिनयसमेत गर्दै आएका छन् । 

त्यस्तै विजयविक्रम श्रेष्ठ काठमाडौँस्थित एक अन्तर्राष्ट्रियस्तरको निर्माण कम्पनीमा आबद्ध हुनुहुन्छ भने विशाल ढकालले बेलायतमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् । तीनै जनाबाट सङ्कलित एकमुष्ट रु ५१ हजारबाट तीन कम्प्युटर खरीद गरेर विजयविक्रम विद्यालय पुगेका थिए । विद्यालयमा आयोजित एक कार्यक्रमबीच उनले प्रधानाध्यापक महेन्द्र प्रधानलाई सहयोग हस्तान्तरण गरे । 

कार्यक्रममा उनले विद्यालयको शैक्षिक अवस्था सुदृढीकरणका लागि पूर्वविद्यार्थीहरुका तर्फबाट निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।  विद्यालयमा कम्प्युटरको व्यवस्था भएपछि अब विद्यार्थीलाई व्यावहारिकरूपमा पढाउन सहज भएको कम्प्युटर शिक्षक सबिन विष्टले बताए ।

'पहिले विद्यार्थीहरुलाई ‘माउस’ को चित्र देखाएर पढाउनुपथ्र्यो, अब विद्यार्थीहरुले ‘माउस’ पढ्न पाएका छन्', उनले भने । कम्प्युटर पाएपछि प्रधानाध्यापक, शिक्षकहरु र कम्प्युटर कक्षाका विद्यार्थीहरु निकै खुशी भएका छन् । रासस 

प्रकाशित मिति: : 2021-01-19 16:08:00

प्रतिकृया दिनुहोस्