बाहिर निस्किन गेट खोल्न पाएका हुँदैनन् आइपुग्छन् घरमा पालेका तीन वटै कुकुर पछिपछि। क्रमशः ती सबैको टाउको मुसार्दै बिस्तारै फकाएर फिर्ता पठाउछन् उनी। सडकमा पाइला बिछ्याउँदा पछि लाग्छन् र लडिबुडि गर्छन् भुस्याहा कुकुरहरु।
खल्तिबाट बिस्कुट निकाल्दै दुई–दुई चक्की दिन्छन् तिनलाई पनि। साना बच्चाहरुलाई देख्नु हुन्न उनले, एकछिन जिस्किन्छन् अनि चक्लेट दिन्छन्। उनी तिनै यादव सर हुन् जसले चार तोला सुनसँग टेपरेकर्डर साट्न इन्कार गरेका थिए।
बाजुराको मष्ठेश्वरी मावि डोगडीमा प्रधानाध्यापक छँदा उनी जिल्ला शिक्षा कार्यालयमा शिक्षा समितिका सदस्य पनि थिए। एसएलसी उत्तीर्ण नभएकालाई पनि प्रक्रिया पूरा गरी स्थायी गर्ने प्रावधान आयो। उनको विद्यालयमा त्यस्ता शिक्षक दुई जना बाजुराकै र एक जना बैतडीका दशरथ मडै गरी तीन जना थिए।
खर्च गर्ने काम कसैले नगर्नू भनेर जोशीले भनिसक्दा पनि दुई जना सुटुक्क पुगिसके छन् जिसिओलाई भेट्न। मडैले जोशीलाई भेटेर भने, ‘सर मेरा ३ छोरा १ छोरी छन्। गरिब परिवारको मान्छे। जसरी हुन्छ यो पैसा जिसिअलाई बुझाइदिनोस्।’ जोशीले सम्झाउन खोज्दा धुरुधुरु रोए। केही सीप नचलेपछि जोशीले त्यो हजार रुपैयाँ लिए तर जिसिओलाई दिएनन्।
केही समयपछि तीनै जना स्थायी भएको नतिजा प्रकाशित भयो। जोशीले सबैको सामु चियाबिस्कुट मगाएर खुवाए। एक रुपैयाँ कप चिया र एक रुपैयाँको एउटा चमेना बिस्कुट गरी चालीस रुपैयाँ पसलेलाई तिरेर बाँकी नौ सय साठी मडैलाई दिँदै भने, ‘मडैजी आज तपाईंको भोज हो। तपाईंले मलाई दिएको पैसा मैले नै राखेको थिए। यो पैसा लिनोस्।’
त्यसपछि निकै नै रिसाए मडै। रिसको झोकमा उफ्रेर भने –‘जिसिओलाई बुझाइ दिनू भनेको पैसा पनि बुझाइ दिनु भएनछ। तपाईंले त मलाई फेल होस् भन्ने ठान्नु भा’रैछ। मेरा देवीदेउता दाइना भएर म पास भएँ।’
अनि डेढ वर्षसम्म बोलेनन् मडै जोशीसँग। डेढ वर्षपछि सबै कुरा बुझेर ‘रियलाइज’ गरी माफी मागे र पुनः पुरानै ढंगका दोस्त बने दुवै जना।
जोशी सुरुदेखि नै निकै रसिक थिए। रहडी थिए। जागिरे जीवनको सुरुकै वर्षमा एउटा टेप रेकर्डर किनेर राखेका थिए। केटाकेटी वृद्धवृद्धालाई डेउडा गीत गाउन लगाएर रेकर्ड गर्थे र फुर्सदको बेला सुन्थे। साँझ बिहान रेडियो नेपालको समाचार सुन्थे।
एक दिन एक जना सुनारले भने – ‘सर त्यो टेर्पिकाट (टेपरेकर्डर) मलाई दिनोस् म ४ तोला सुन दिन्छु।’ त्यो बेला सुनको मूल्य थियो प्रतितोला ८ सय रुपयाँ। उनी सम्झिन्छन्। ती दिन र सुनाउँछन्, ‘एक्लै बस्दाको साथी बनेको टेपरेकर्डरसामु त्यो चार तोला सुन केही पनि लागेन मलाई। मानेन् मनले सुनसँग टेपरेकर्डर साट्न। थुप्रै थिए त्यतिखेर बाजुराका केटाकेटीहरुको स्वरमा रेकर्ड भएका गीतका चक्काहरु। खै कहाँ पुगे, अब सम्झनामा मात्रै सीमित छन ती।’
दसैंको आसपासतिर टाटेमा राँगा जुधाउने चलन थियो। एकपल्ट राँगा जुधाउने क्रममा ठूलै झगडा पर्यो। छुटाउन जाँदा उनकै टाउकामा चोट लाग्यो। त्यतिबेला गाउँघरतिर शिक्षकको निकै महत्व थियो। हेडसरलाई चोट लाग्यो अब को–को ठाना जान्छन् भनेर कसैले हल्ला गरिदियो।
पछि कयौं मान्छे डराए। उनले सबैको सामु चोट सहेर भने – दुवै पक्ष मिलेर अब झगडा नगर्ने वाचा गर्यौँ भने म खुशी हुन्छु, कसैलाई थाना पुर्याउँदैन। तब बाध्य भए दुई पक्ष मिल्न। यसरी उनी समाजमा अभिभावकको भूमिका पनि निभाइरहेका हुन्थे। त्यतिखेर मनोरञ्जनका साधन भनेका जात्रा र चाडपर्व मात्रै हुन्थे। एकपल्ट विद्यालय नजिकै लाग्ने मेलामा डेउडा खेलमा लागे उनी पनि। मास्टरले पनि सवाल जवाफ गर्नु पर्छ भनी कर गरेछन् धेरैले। अनि सुरु भएछ सवाल जवाफ:
जोशी– दुई जनी सर्पले टोक्यो साँफेका बडथी
सम्रडीले गली गएँ आइजाउँकी हडखी
अर्का गिताङ्गे – कुटुवा तमाखु मेरो पोकाको पोकै छ
वड्डो (वर) नआऽ पुड्डो(पर) बाइजा म तेरी ओकाइछ (एलर्जी)
जोशी– उइनोइ(त्यतै) आँसी उइनोइ जेउडो (नाम्लो) उइनोइ खुर्पा ठ्यास्स
रुखका पात झडेजन तैले अरी (गरिस्) ख्यास्स
यसरी दुई चार घण्टासम्म सवालजवाफ पनि गरेछन्। विद्यार्थी जीवनमा निबन्ध र कविता प्रतियोगितामा भाग लिन्थे उनी। प्रथम हुन नसके पनि दोश्रो तेश्रोसम्म भैरहन्थे। तर ती कहाँ परे कुन्नि, राखेनन् जतन गरेर। आमा, म मादल हुँ जस्ता केही कविताका शीर्षकसम्म याद छन्। पछि जागिरे जीवनमा खासै लेख्न सकेनन्।
एकपल्ट डोगडीको मेलामा डेउडा खेल खेल्न तीन चार जना लाठी टेकाउँदै गएछन्। जसमध्ये उनको विद्यालयका दुई जना चन्द सर (किर्ति बहादुर चन्द ) र जोशी सर पनि थिए। झगडा गर्ने उद्देश्यले आएका आतङ्ककारी भनेर पुलिसले लगेर भित्र हुलिदिएछ। उनले सदरमुकाम पुगेर सीडीओलाई अनुरोध गरे।
सीडीओले छानबिन हुँदैछ भनेर फिर्ता पठाए। पछि ती शिक्षकद्वयलाई १५ दिन थुनामा राखेर यातना दिई २४ घण्टा हिरासतमा राखेको कागज थमाएर पठायो। प्रजातन्त्रका पक्षधर जोशीले सीडीओ र जिसिओलाई थाहा दिलाएर ती शिक्षकद्वयलाई एक दिनको मात्र काटेर बाँकी १४ दिनको तलब खुवाए छन्। हक्की स्वभावका उनी कैयौंपल्ट प्रशासनको नजरमा परिरहे तर डराएनन्।
उनी सम्झिन्छन् – त्यतिखेरका विद्यार्थीहरु गुरुलाई निकै नै आदर गर्थे। नैतिकता, साँस्कृति र सभ्यताका हिसाबले ती विद्यार्थीहरु अगाडि थिए। अचेलका विद्यार्थीहरु टेक्निकल्ली फास्ट छन्।
कर्ण थापा (पूर्वमन्त्री) लगायतका केही छात्रहरु बाटोमा देख्दा झोला नै बोकिदिन्थे। अटेरी विद्यार्थी पनि डराउँथे उनीसँग। उनले पढाएका विद्यार्थीहरुमध्ये डाक्टर इन्जिनियर, शिक्षकदेखि पुलिस र आर्मीका माथिल्लो तहमा पुगेका थुप्रै छन्।
बाजुरामा सिकाउने काम मात्रै गरेनन् उनले। अरुका काम र जिन्दगी देखेर सिक्ने मौका पनि पाए। चर्चित समाजसेवी नरसिंह गिरि बाजुराकै थिए। सुरुमा नर्मल तालिम लिएका गिरीले पछि सांसद् हुँदा भानुदय मा.वि.बाटै टेष्ट परीक्षा दिए।
आफ्नो कमाइ खाने खेत बेचेर नदीमा पुल हाल्ने गिरी त्यतिबेला निकै लोकप्रिय थिए। जो निकै गरिब परिवारका थिए। जोशीका अनुसार गिरीको सामाजिक काम देखेरै जनताले कर गरी उनलाई सांसदमा उठ्न लगाई जिताएका थिए। गिरी सामाजिक क्षेत्रमा प्रेरणाका श्रोत नै मानिन्छन्।
बाजुरामै छँदा प्रमोसन भएर मावि द्वितीय श्रेणीका शिक्षक बनेका जोशी कैलाली आइसकेपछि पनि प्रधानाध्यापक नै बने। द्वन्द्वकालमा दुई जना माओबादी आएर भने – ‘तपाईले एम ए गर्नु भएको छैन प्रधानाध्यापक बन्न पाउनु हुन्न।’
भोलिपल्टै प्रधानाध्यापकको पदबाट राजिनामा दिएर कानपुर विश्वविद्यालयमा समाजशास्त्र विषयमा एम ए मा भर्ना भए उनी। दुई वर्षमा एम ए पास गरे। अनि एम ए पास गरेको सर्टिफिकेटको फोटोकपी पठाए माओवादी कहाँ। तत्पश्चात ती माओवादीले आफ्नो गल्ति स्वीकार गरी माफी मागे। जोशी पुनः प्रधानाध्यापक बने।
कानपुरमा एम.ए. दोश्रो वर्षको परीक्षा दिँदा चार जना आएर मोजासमेत चेक गरे। जोशीको खल्तिमा एउटा कागज थियो, जसमा लेखेका थिए दुई पंक्ति कविता। उनीहरुले त्यो कागज नेपाली विभागमा लगेर गए। पछि आएर भने, ‘ठीक है ए कविता है, आज के बाद कुछ मत लाना।’
नेपालमा माओवादी द्वन्द्व चर्किएको थियो। विश्वविद्यालयको प्रमुखले उनी नेपालका माविका शिक्षक भन्ने थाहा पाएपछि उनीसँग माओबादी गतिविधिका बारेमा सोधे।
एकछिन दुवैको कुराकानी भयो। कुराकानीका क्रममा जोशीले थप कुरा पनि भने, ‘तपाईंको विश्वविद्यालयमा विद्यार्थी स्वयमले कपी मागेर ल्याउनुपर्छ।
थप कपि माग्दा धागो मात्रै पाइन्छ। कलमले प्वाल पारेर विद्यार्थी स्वयम्ले बाँघ्नुपर्छ। यति गरुन्जेल विद्यार्थीको समय ‘लस’ हुँदैन ? ’ दोश्रो दिनको परीक्षामा गार्डले उनको कपी मात्रै स्टिच गर्यो। उनी हेरिरहे अरु विद्यार्थीले उसैगरी कपीमा प्वाल पारिरहेको।
पञ्चोदय माबि धनगढीबाट माबि फस्टक्लास भई सेवानिवृत्त जोशी अहिले र उहिलेको क्रय शक्तिका बारेमा सोच्न थाल्छन् र सुनाउछन् –‘समय समयको कुराहो। त्यतिबेला बाजुरामा महिनाभरी खाएको सय रुपयाँ खर्च हुन्थ्यो। जसरी खाँदा नि मासिक आठ सय अर्थात् एक तोला सुनको मूल्य बच्थ्यो। अहिले सुनको मूल्य प्रतितोला लाख पुगिसक्यो।’
जोशीले जागिरको पैसा छोराछोरीमा लगानी गरे। माइलो छोरा नेपाल सरकारको इञ्जिनीयर छन्। तीन जना छोरीमध्ये दुइटीको बिहे भैसक्यो। कान्छी छोरी मास्टर्स पढिरहेकी छन्।
डोटी क्याम्पसमा पढ्नेताका नै उनी राजनीतिमा लागिसकेका थिए। पञ्चायतकालमै भेषराज जोशीको अध्यक्षतामा निर्मित नेविसंघको कार्यसमितिमा उनी सहसचिव थिए। बाजुरामा शिक्षण गर्दा शिक्षक संघ बाजुराको अध्यक्ष बने। २०४६ सालको प्रजातन्त्र पछाडि ०४७ सालमा शेरबहादुर देउवा सुदूरपश्चिमको कमाण्डर बनी ठाउँ–ठाउँ पुगेका थिए। त्यही दौरानमा देउवालाई बाजुराका २७ गाविसमध्ये २३ गाविस घुमाए।
बाजुराबाट देवराज जोशीले सांसदमा लड्दाताका शिक्षकको तर्फबाट खुल्ला हृदयले सहयोग गरे तर आजका मितिसम्म उनले आफ्ना लागि कसैसँग केही मागेनन्। केवल प्रजातन्त्रको लागि भनेर जागिरलाई समेत दाउमा राखेर लागि परे सधैँभरि। पञ्चायती व्यवस्थामा बाजुरामा पुग्ने सिडिओका लागि आँखाको कसिङ्गर नै बनेका थिए उनी।
मष्ठा मावि डोगडीमा पढाउदा खप्तडको बाटो हुँदै डोटी पुग्थे उनी। खप्तडमा भेट हुन्थ्यो खप्तड स्वामीसँग। स्वामीजीसँग पटक–पटक भेटमा भएका कुराकानी सम्झनामा आउँछन् अचेल। बाजुरामा छँदा समाजमा हरेक कार्यमा निम्तो दिन्थे शिक्षकलाई।
चिठी लेख्न होस् वा कोही बिमारी हुँदा प्रायःजसो सम्झिन्थे शिक्षकलाई नै। थुप्रै छन् यस्ता सम्झिन लायक घटनाहरु। उनले पछिल्ला दिनमा जिन्दगीका तिनै अनुभव र अनुभूतिका पाटाहरु समेटेर आत्मकथा लेख्ने सोच बनाएका छन्।