विगत पाँच महिनाको अवधिमा झण्डै दुई करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

जिल्लामा प्रहरीले विगत पाँच महिनाको अवधिमा झण्डै दुई करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ भने भन्सार छलिमा संलग्न तस्करलाई समेत कारवाहीको दायरामा ल्याएको छ । 

रौतहट प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले दिएका जानकारी अनुसार आर्थिक प्रलोभनमा परेर तस्करसँग साँठगाँठ गर्ने केही प्रहरी अधिकारलाई समेत कारवाहीको दायरामा ल्याइएको छ । 

गत साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा तस्करहरुले अवैधरुपमा भित्र्याएको एक करोड ९१ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको सामान जिल्लाको विभिन्न स्थानबाट बरामद भएको जिल्ला प्रहरी उपरीक्षक शाहले बताए । 

उक्त सामानको तस्करीमा संलग्न २७ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पठाइएको उनले जानकारी दिए । 

यसैगरी उक्त अवधिमा नै तस्करीको मालसामान ओसारपसार गर्न तस्करले प्रयोग गरेको तीन थान ट्रक, एक थान पिकअप, एकथान ट्याक्टर, २० थान मोटरसाईकल, १६ थान साईकल गरी कुल ४९ थान सवारीसाधन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ । 

यस्तै आर्थिक प्रलोभनमा परेर तस्करसँग साँठगाँठ गरेका पाँचजना प्रहरीको बढुवा रोक्का गर्नुका साथै नसिहतको सिफारिस गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

गत आर्थिक वर्षमा ४७ जना फरार अभियुक्त पक्राउ गरेको रौतहट प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २६ जना त्यस्ता अभियुक्तलाई पक्राउ गरेको छ । 

उनीहरुबाट कुल ८० लाख ५७ हजार रुपैयाँ राजस्व असुल तथा १२ वर्ष ७ महिना ६ दिन कैद भुुक्तान असुल भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ 

प्रकाशित मिति: : 2021-01-08 17:09:00

प्रतिकृया दिनुहोस्