सांसदले रायमाझी भने : प्रधानमन्त्री ओलीले मानसिक सन्तुलन गुमाइसके (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाइसकेको आरोप लगाएका छन्। संसद विघटन गर्न बहुमत सांसदको समर्थन हुनुपर्ने र मानसिक अवस्था ठीक हुनुपर्ने उल्लेख गरेको हुन्।

बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर बोल्दै सांसद रायमाझीले भने,‘संविधानअनुसार प्रधानमन्त्री रहन संसद सदस्य रहनुपर्छ। तर सन्कको भरमा प्रतिनिधिसभा विघटन गर्ने काम गर्ने भनेको मानसिक स्वास्थ्य ठीक नभएको मान्छेले मात्रै हो।’

रायमाझीले प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको समेत आरोप लगाए।

‘प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो ? हिटलर हो यो मुलुकको? उहाँले जे गर्नुहुन्छ त्यो मानिदिनुपर्ने ?’, उनले प्रश्न गरे।

उनले संविधानले प्रधानमन्त्री शहुन योग्यता निर्धारण गरेको भन्दै उनले अहिलेका प्रधानमन्त्री ओलीले सबै योग्याता गुमाइसकेको पनि बताए।

‘असंवैधानिक काम गर्ने व्यक्ति प्रधानमन्त्री हुन सक्छ कि सक्दैन ?’ उनले भने ‘उहाँको मानसिक सन्तुलन गुमिसक्यो भन्न मिल्छ कि मिल्दैन ? हामीले भनेजस्तै अधिनायकवादको बाटोमा हिँड्नको लागि सरकारले आफ्नो गृहकार्य गरिरहेको छ।’

उनले प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डालाई जुनसुकै कागजमा पनि सही गराउने गरेको अरोप लगाए। 

‘सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको पनि बदनाम गरेको छ। राष्ट्रपतिलाई हरेक कागजमा सही गराउने ? उहाँ नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष हो ? नेकपाको कार्यकर्ता हो ?’ रायमाझीले प्रश्न गरे।

उनले राष्ट्रपतिलाई सम्मानीत पदमा बसेका कारण नेकपाको कार्यकर्ता नबन्न सुझाब दिए। ‘यो मुलुकको उच्च पदमा रहनुभएको सम्मानित व्यक्ति हो’, उनले भने।

सांसद रायमाझीले प्रधानमन्त्री ओलीले संविधान विपरीत संसद विघटन गरेको र काम चलाउन भइसकेको सरकारमा मन्त्री थप गरेको भन्दै आलोचना गरे।

प्रकाशित मिति: : 2021-01-07 14:07:00

प्रतिकृया दिनुहोस्