काठमाडौं उपत्यकामा लाग्यो घाम, जाडो बढ्याे, प्रदूषण घट्ने

काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पारिलो घाम लागेको छ। घाम लागेपछि केही दिनदेखि अत्याधिक बढेको काठमाडौँ उपत्यकासहित देशका अरु शहरी क्षेत्रको वायु प्रदूषणमा कमी आउने क्रम सुरु हुने मौसमविद बताउँछन्।

खराब मौसम, आगोबाल्दा निस्कने धुँवा, डढेलो, सवारी प्रदुषण, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषण जस्ता कारणले काठमाडौं उपत्यकामा वायुको गुणस्तर खतराको तहमा पुगेको छ।

सोमबारदेखि घाम नलाग्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको हो। बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको छ। सोमबार र मंगलबार वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि पुगेको थियो।

काठमाडौं उपत्यका बाहेक तराई क्षेत्रका सहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च देखिएको छ। नेपालगञ्ज, विराटनगरसहितका सहरमा वायु प्रदूषण उच्च रहेको छ।

मौसमविद वरुण पौडेलले भने, ‘जाडोको समयमा प्रदूषण बढ्ने विशेषता नै हो। किनभने यो समयमा हावा पनि नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदूषणको तह थुप्रिएर बस्छ। घाम लागेपछि थोरै भए पनि हावा चल्छ। त्यो हावाले प्रदूषणको तहलाई यताउता छर्छ र तुलनात्मक हिसाबले प्रदूषण घटाउन केही सहयोग गर्न सक्छ।’

अहिले बिहान केही हुस्सु लागेको भए पनि बिस्तारै खुल्दै गएर दिउँसो घाम लाग्ने देखिए पनि पूरै घमाइलो भने नहुने उनले बताए। 

मौसमविद पौडेलका अनुसार सुदूरपश्चिमको हिमाली र उच्च पहाडी भाग तथा पूर्वी क्षेत्रमा पनि अलिअलि बदलीको अवस्था छ। तर पूर्वी क्षेत्रको बदली भने आज रातिबाट हट्ने छ। भोलि बिहानबाट देशका सबै भागबाट बदली हट्ने उनले बताए।

तराई-मधेसका जिल्लामा लागेको हुस्सु र कुहिरो घाम लागेसँगै क्रमसँगै कम हुँदै जाने छ।तर पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद बताउँछन्।

घाम लागेसँगै अब चिसो बढ्ने छ। बादलले ब्ल्यांकेटको रुपमा काम गर्दा जमिनको तातो हावा माथि जान नसक्दा केही न्यानो महसुस भएको थियो। तर अब बादल हटेकाले न्यूनतम तापक्रम घट्ने र चिसो बढ्ने मौसमविद बताउँछन्।

प्रकाशित मिति: : 2021-01-06 09:05:00

प्रतिकृया दिनुहोस्