राजनीतिक ‘ब्ल्याक होल’तर्फ नेपाल

‘सब काम ‘चोखा’ होगइल’ अर्थात् सबै काम ‘खराब’ भयो। देहातमा खाना वा खाजासँग खाइने आलु वा भण्टाको चोखा स्वादिलो त हुन्छ नै यदि घोन्सारमा पकाइएको रहेछ भने त स्वादको कुरा वर्णन गरेर साध्य छैन। 

कडा परिश्रम गरेर प्राप्त गरेको सफलता आफ्नै गल्तीको कारणले असफलता उन्मुख भएको सन्दर्भमा काम ‘चोखा’ भयो भन्ने शब्द देहातमा प्रयोग गर्ने प्रचलन धेरै पुरानो हो। ज्योतिष शास्त्रका अनुसार, ग्रहगोचरको अनुकूलता र प्रतिकूलताको प्रभाव मनुष्यमाथि मात्र होइन, देशमाथि पनि पर्दछ। 

ग्रहगोचरकै प्रतिकूलताको असर होला, पार्टीभित्रको किंचलो अन्ततोगत्वा देशलाई आर्थिक भार पर्ने गरी उदीयमान भएको छ। कोरोनाबाट थलेको देशको आर्थिक भार मध्यावधि चुनावले झन् थला पार्ने सम्भावनालाई नकार्न सकिन्न। सत्तापक्षबाट भएको पछिल्लो निर्णय देश हितको सवालमा शिशुकालीन गणतन्त्र ‘चोखा’ जस्तै भएको छ।  

देहातको एउटा चर्चित कथा छ। धोबीसँग एक घोडा र एक गधा थियो। एक दिन धोबीले गधाको ढाडमा लुगाको विशाल बोझ लादिदियो। घोडामाथि चाहिँ केहि लादेन। गधाले ठूलो भारी बोकिरहेको थियो।  

घोडाले गधालाई भन्यो, ‘केही बोझ मलाई पनि देऊ।’ गधाले अस्वीकार गर्‍यो। केही समयपछि गधाले बोझ थेग्न सकेन र लड्यो। वर्तमान राजनीतिक घटनाक्रम पनि गधा र घोडाको देहाती कथासँग मेल खान्छ।

सडकको धुलो, खेतको हिलो, हुस्सु र शीतलहरसँग पाैँठेजोरी गर्ने आमजनको मत पाएर एयरकन्डिसन गाडी र पाँचतारे होटलको वासनामा लिप्त पात्रहरुको लागि प्रत्येक वर्ष चुनाव आए पनि केही फरक नपर्ला तर देशलाई फरक पर्छ। अर्थतन्त्रलाई फरक पर्छ। 

आममानिसलाई फरक पर्छ। देशको अर्थतन्त्रलाई धाराशायी पार्ने काम कहिल्यै पनि भूइँ तहबाट भएको उदाहरणहरु संसारमा पाइँदैन। सरकारको स्वामित्वधारी र शीर्षस्थजनबाट भएका त्रुटीको भर्पाइ अन्ततोगत्वा चर्को कर आदि विभिन्न स्वरुपमा नागरिकबाट असुल्ने विधि जनमनलाई चेतना छैन भन्ने होइन। यद्यपि विगतको निरंकुशतन्त्र होस् वा वत्र्तमानको गणतन्त्र होस्, राजनीतिक ‘ब्लैक होल’ मा देश र जनताको आकाङ्क्षालाई स्वाहा पार्ने क्रम निरन्तर छ। 

चाँदीमा सुन पानीको कैयौं तहको लेप लगाए पनि वाहिरी आवरणमा सुनजस्तै देखिने चाँदीलाई सुनको मूल्यमा बिक्री गर्न सकिँदैन। अर्थात्, राजनीतिक चरित्र देखावटी भन्दापनि देश र सामाज अनुकुल हुनुपर्छ। त्यसो भएन भने सोह्र श्रृङ्गार गरेपनि आमजनको मानसपटलमा साकारात्मक चित्र कोर्न असफल प्रायः नै हुन्छ।

आफ्नै पार्टी भित्र गुटबाजी, निषेध र वञ्चितीकरणको पराकाष्ठाका साथै चरम अस्थिरता र संकटमा सिंगो मुलुक फस्ने भएपछि अग्रगामी र समावेशी संविधान को  दाबी गरिएको संविधान मिथ्या र भ्रामक हुन पुगेको अनुभव भएको हो। राजनीतिक चरित्र सत्तामोह र स्वार्थमोहमा आधारित रहेसम्म देशको कल्याण असम्भवप्रायः छ। 

राज्यको ढुकुटीमा स्वाहातन्त्रको शैली विद्यमान रहुञ्जेलसम्म देशको विकास र प्रगतिपरक निकासको सवालमा निरंकुशतन्त्र र गणतन्त्रमा भिन्नता महसुस हुुनु दिवास्वप्न जस्तै हो। त्यसैले गणतन्त्रलाई ‘चोखा’ बनाउने कार्य जनस्तरलाई कुनै पनि पक्षबाट अपेक्षित छैन। 

मङ्सिर र पुस महिना हेमन्त ऋतु अर्थात् जाडो याम भए पनि पछिल्लो राजनीतिक घटनाक्रम राज्यमा गृष्मऋत् उत्पन्न गरिदिएको छ। पृथ्वीको उत्तरी गोलार्धमा सूर्यको प्रभाव घट्दै जान्छ। कहिलेकहीं मात्र सूर्यको तप्त किरण पर्ने हुनाले यी महिनाहरुमा शीतलहर र कुहिरोका साथै अत्यधिक जाडो हुने गर्दछ। 

पुस महिनामा चाँडपर्व र वैवाहिक क्रियाकलाप शुन्यप्रायः हुने हुनाले सामाजिक व्यस्ता ठप्प नै भन्नुपर्छ। धानबाली भित्रियाउने कार्य देखि गहुँ/तेलहन बाली लगाउने कार्य सम्पन्न भई खेतीकिसानीमा समेत सामान्य सक्रियता वाहेकको गतिविधि पाइँदैन। यद्यपि शीतलहरको कारण गाउ“देहात सुस्त रहेको वर्तमान अवस्थामा सिंहदरबारको तापमान देशैभरि प्रवाहित भइरहेको अवस्था वर्तमान परिप्रेक्ष्य हो। 

सत्तारुढ नेकपा जुन कारणले गर्दा फुट्यो। ती कारणमा जनताको चासो र हितको कुनै मुद्दा छैन। सरकारलाई सधैं दबाब दिएका पक्षले आफ्नो पार्टीको चुनावी घोषणापत्र कार्यान्वयन गर्ने दबाब कहिल्यै दिएको सुनिन्नथ्यो। कोरोना महामारीको यति गम्भीर अवस्थामा जनताले बेरोजगारी, अभाव, शिक्षाबाट बञ्चित भइरहेका र भविष्य खतरामा परेका छोराछोरी पाशविक कष्ट पाउ“दा पनि नेकपाको नेतृत्व–मण्डलीले नेता व्यवस्थापनको विवादमै केन्द्रित भएर अमूल्य समय खेर फाल्यो।

जाडोको महिनामा प्रायः उपभोग गरिने देहाती पारम्परिक खाजा ‘भूजा र चोखा’ को स्वाद राजनीतिक घटनाक्रमले अस्वादिलो बनाइदिएको छ। आनन्दी चामलको भुजा जस्तै राष्ट्रमुखी राजनीतिक परिवेश समेत लोपोन्मूख छ भन्नुपर्दा कुनै अतिशयोक्ती नहोला। 

राष्ट्रिपति विद्यादेवी भण्डारीबाट आइतवारको दिन जारी सूचना अनुसार प्रतिनिधिसभा विघटन भइसकेको अवस्था छ। यसर्थ संविधान सभाका सदस्यहरु यतिबेला निवत्र्तमान सभासद भइसकेका छन्। केपी शर्मा ओलीको निर्णयप्रति उनको पार्टीमा मात्र होइन अन्य दल लगायत जनस्तरसम्म समेत विरोधाभास देखिन थालेको छ। 

संख्यात्मक रूपमा राजनीति गर्नेहरूको संख्या विगतको तुलनामा अत्यधिक छ तर गुणात्मक रूपमा अति न्यून। निर्वाचनको बखत जनतालाई किन्न सकिन्छ भन्ने दरिद्र सोचले धेरै राजनीतिकर्मी आक्रान्त छन्। राष्ट्र र जनतालाई तुच्छ अनि विदेशी शक्तिलाई उच्च मान्ने असन्तुलित मनस्थिति नेपाली राजनीतिको ठूलो रोग हो। 

देहातीजन ‘दाल रोटी खाओ, प्रभुका गुण गाओ’ तर्फ आकृष्ट रहेको बेला सरकार भने ‘चित भी मेरा, पट भी मेरा’ को अवस्थामा रहेको सन्दर्भ आमजनलाई चिन्तित बनाएको छ। शिशुकालीन गणतन्त्रलाई बचाउनुभन्दा पनि आआफ्नो स्वार्थसिद्धिप्रति लालायित राजनीतिक संस्कार विकसित हुनु किंमार्थ उचित होइन। 

संविधान र सोको मूल्य–मान्यताको धज्जी कसैले पनि उडाउनुहुँदैन। नियत सर्वअनुकूलाय हुनुपर्छ। देश र नागरिकको दीर्घकालीन हितजन्य कर्तव्यदेखि विमूख हुनुहुँदैन भन्ने सरोकारप्रति शीर्षस्थजनलाई अन्तर्बोध हुनु जरुरी छ। राष्ट्र र राष्ट्रको अर्थतन्त्र जोगाउने सन्दर्भ र सर्वजन हितायको सवालमा इमान्दारीपूर्ण कर्तव्य अपेक्षित छ।
 

प्रकाशित मिति: : 2021-01-04 17:47:00

प्रतिकृया दिनुहोस्