राष्ट्रपतिविरुद्ध अशोभनीय नाराबाजी गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

बिएल संवाददाता

काठमाडाै‌ं

अखिल नेपाल महिला संघ(अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाहीको माग गरेको हो। नभए आफूहरु कानुनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ शर्मिला कार्कीले बताइन्।

लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिकोविरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनीय र अमर्यादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए। साथै सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन दिएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन्। आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी हुने गरेको छ।

प्रकाशित मिति: : 2021-01-03 12:39:00

प्रतिकृया दिनुहोस्